खरसाङ: आज विश्व ब्लड डोनर्स डे को अवसरमा रेड क्रस सोसाइटी, खरसाङ शाखाको आयोजनामा अनि श्री सत्य साई सेवा सङ्गठन, खरसाङ समितिको संयोजकत्वमा खरसाङ साई समिति भवनमा रक्तदान तथा सचेतना कार्यक्रम सम्पन्न गरियो। आजको यस रक्तदान शिविरमा कार्यक्रमका मुख्य अतिथि एवम् खरसाङ महकुमा शासक अवध सिंघलले पहिलो रक्तदान गरे। तिनले आयोजित सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै रक्तदान गर्नुको फाइदाबारे जानकारी गराए। खरसाङ रेडक्रस सोसाइटीका सचिव विजयसिंह सिञ्चुरीले सञ्चालन गरेको सचेतना कार्यक्रममा श्री सत्य साई सेवा सङ्गठन, पश्चिम बङ्गाल दुइ राज्यका राज्य सभापति विजय मंगरले विश्वमा वैज्ञानिकहरूले सबैथोक बनाए पनि मानिसलाई चाहिने रगत भने स्वयम् मान्छेले नै दिनुपर्ने बताए। तिनले पनि उपस्थित सबैलाई रक्तदान गर्न प्रेरित गरे। खरसाङ सदर अस्पतालका डाक्टर सुदान्सु साहारे अनि सिस्टर तारा छेत्रीले पनि आजको ब्लड डोनर्स डेको महत्वबारे प्रकाश पार्दै रक्तदान गर्नुको उद्देश्य अनि फाइदाबारे अवगत गराए।

आजको रक्तदान शिविरमा सन्त अलफन्सस स्कूलका पाँचजना विद्यार्थी लगायत खरसाङ साई समिति अनि अन्यहरू लगाएर मोठ अठाह्र जनाले स्वेच्छा पूर्वक रक्तदान गरे। जसमा महिला तीन अनि पुरुष पन्ध्रजना रहेका छन्। यस शिविरको सञ्चालन गर्न खरसाङ सदर अस्पताल ब्लड ब्याङ्कबाट टेक्निसियनहरू उपस्थित थिए। शिविरमा यहाँको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयबाट पनि विद्यार्थी अनि शिक्षकहरू उपस्थित थिए।