पञ्चायत चुनावको लागि खरसाङमा नामांकन पत्र बुझाउने कार्य जारी

IMG-20230614-WA0350.jpg

पाँचौं दिन विभिन्न राजनैतिक पार्टीहरू र निर्दलीयहरूले बुझाए नामांकन पत्र

खरसाङ: आगामी ८ जुलाईको दिन हुने पञ्चायत चुनावको लागि नामांकन पत्र बुझाउने कार्य धमाधम चलिरहेको छ। नामांकन पत्र बुझाउने पाँचौं दिन आज पनि विभिन्न पार्टीहरू र निर्दलीय प्रार्थीहरूले नामांकन पत्र बुझाएका छन्। हिजो १३ जूनसम्म पञ्चायत चुनावमा पञ्चायत सदस्य र पञ्चायत समितिको लागि खरसाङमा जम्मा १३५ जनाले नामांकन पत्र बुझाई सकेका छन्। त्यसरी नै आज बुधबार पनि विभिन्न राजनैतिक पार्टीहरू र निर्दलीय प्रार्थीहरूले आफ्नो नामांकन पत्र बुझाएका छन्।

आज मात्र अहिलेसम्म कतिजनाले नामांकन पत्र भरेका छन् त्यो एकैचोटी भरै बेलुका जानकारी आउने बताइएको छ। आज विशेष गरी भारतीय जनता पार्टी र यसको गठबन्धन दलहरूले पञ्चायत चुनावको लागि नामांकन पत्र बुझाएका छन्। गोरामुमोले आफ्नो विभिन्न सिटहरूमा बेग्लै नामांकन पत्र बुझाएका छन् भने कतै गठबन्धन दललाई सहयेग गर्ने र कतै गोरामुमोलाई गठबन्धन दलले सहयोग गर्ने भएको जानकारी प्राप्त भएको छ। त्यसरी नै गोजमुमो, क्रामाकपा, हाम्रो पार्टी लगायत अन्यहरूले पनि गठबन्धनको तर्फबाट नामांकन पत्र बुझाएका छन्। यसको साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षबाट आज पनि धेरैले नामांकन पत्र बुझाउने कार्य सम्पन्न गरेका छन्। हिजो मंगलबार खरसाङ खण्डको १४ वटा ग्राम पञ्चायतहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ८९ पञ्चायत सदस्यहरू र १५ जना पञ्चायत समितिको लागि नामांकन पत्र बुझाएका थिए भने आज पनि धेरैले नामांकन पत्र बुझाएका छन्।

भागोप्रमोले आज पनि नसकेको खण्डमा भोलि पनि नामांकन पत्र बुझाउने कार्य गरिने जानकारी प्राप्त भएको छ। यसको साथै विभिन्न ग्राम पञ्चायतहरूमा निर्दलीय प्रार्थीहरूले नामांकन पत्र बुझाएका छन् भने प्राय: जस्तो धेरैवटा स्थानहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट टिकट नपाएकाहरूले नै निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement