अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाको एक अदालतमा संवेदनशील फाइलहरूको लापरवाहीपूर्वक ह्यान्डल गरेको मामिलामा आफू निर्दोष भएको दाबी गरेका छन्। संघीय आपराधिक अभियोगको सामना गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन्। यस मामिलामा दोस्रो पटक अदालतमा उपस्थित भएका ट्रम्प सुनुवाइका क्रममा गम्भीर भावसहित कालो सूट लगाएर अदालतमा बसेका थिए। सुनुवाइपछि ट्रम्प न्यु जर्सीको बेडमिन्स्टरस्थित आफ्नो गल्फ क्लब पुगेका थिए, जहाँ उनले समर्थकहरूलाई सम्बोधन गरेका थिए।
र्यालीमा उनले आफूसँग कागजात राख्ने ‘पूर्ण अधिकार’ रहेको तर समय अभावका कारण सबै कागजपत्रहरु हेर्न नसकेको बताए। आफ्नो र्यालीमा ट्रम्पले जो बाइडेनमाथि कडा प्रहार गरेका थिए। उनले बाइडेनलाई आफ्नो विरुद्ध चलिरहेको मुद्दाको लागि जिम्मेवार भने। उनले भने, ‘भ्रष्ट वर्तमान राष्ट्रपतिले आफ्ना चर्को राजनीतिक प्रतिद्वन्द्वीलाई झुटो आरोपमा पक्राउ गरेका छन्। राष्ट्रपतिको निर्वाचनको बेलामा यो सबै भइरहेको छ। यो चुनावमा उनी नराम्ररी हार्दै छन्l’ अदालतले ट्रम्पलाई कुनै पनि प्रकारको राष्ट्रिय वा अन्तर्राष्ट्रिय यात्रामा कुनै प्रतिबन्ध लगाएको छैन। ट्रम्पका वकिल टोड ब्लान्चेले यस मामिलामा ‘दोषी नभएको’ निवेदन दर्ता गर्ने बताएका छन्। ट्रम्पले कार्यालय छोडेपछि सरकारी कागजात आफ्नो फ्लोरिडाको घरमा राखेकोमा अनुसन्धानको सामना गरिरहेका छन्।










