नयाँ दिल्ली: रक्षामन्त्री राजनाथ सिंहले संयुक्त राष्ट्र (युएन) शान्तिरक्षकहरूको सुरक्षा सुनिश्चित गराउनका लागि जिम्मेवार राष्ट्रहरूबीच सहयोग बढ़ाउने आह्वान गरेका छन्। यिनीहरू शान्ति रक्षक स्थिरता कायम राख्न, संघर्षहरूलाई रोक्न तथा शान्ति बहालीको निम्ति हिंसा प्रभावित क्षेत्रहरूमा तैनाथ छन्। राजनाथ सिंहले शान्ति सैनिकहरू समक्ष तीव्र गतिमा उदाइरहेका चुनौतीहरूमाथि प्रकाश पार्दै शान्ति अभियानहरूमा महिलाहरूको सार्थक सहभागिताको वकालत गरे।
रक्षामन्त्रीले मंगलबार नयाँ दिल्लीमा संयुक्त राष्ट्र शान्ति स्थापनाको ७५ वर्ष पूरा भएको उपलक्ष्यमा भारतीय सेनाद्वारा आयोजित एक विशेष संगोष्ठीलाई सम्बोधन गरिरहेका थिए। संघर्ष प्रभावित क्षेत्रहरूमा हुने मिशन अवधि उनीहरूको अद्वितीय योगदानलाई मान्यता दिनुपर्ने आवश्यक्तामाथि बल दिँदै रक्षामन्त्रीले सुरक्षा परिषद (युएनएससी) सहित संयुक्त राष्ट्रको निर्णय लिने निकायहरूलाई विश्वको जनसांख्यिकीय वास्तविकताहरूप्रति अधिक चिन्तनशील बनाउने आवश्यकतालाई पुनः दोहोऱ्याए। उनले भने, ‘जब सबैभन्दा अधिक जनसंख्या भएको देश भारतले युएनएससीको स्थायी सदस्यको रूपमा एउटा सीट पाउँदैन भने यसले संयुक्त राष्ट्रको नैतिक वैधतालाई कमजोर बनाउँदछl अब संयुक्त राष्ट्रका निकायहरूलाई अधिक लोकतान्त्रिक र हाम्रो युगका वर्तमान वास्तविकताहरूको प्रतिनिधित्व गर्ने किसिमको बनाउने समय आएको छl’ राजनाथ सिंहले अझ भने, ‘भर्खरै भएको रूस-यूक्रेन संघर्षबाट नकारात्मकता उत्पन्न भएको छ, जसले विभिन्न अफ्रिकी साथै एशियाली देशहरूमा खाद्य संकटसहित विश्वमा ऊर्जा संकटलाई बढ़ाएको छl’
थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले आफ्नो प्रारम्भिक टिप्पणीमा संयुक्त राष्ट्र शान्ति स्थापनामा भारतको योगदानमाथि प्रकाश पार्दै भने, भारतीय सेनाका लगभग ५,९०० जवानहरूले शान्ति रक्षकको रूपमा विश्वका विभिन्न शान्ति अभियानहरूमा काम गरिरहेका छन् जसमा कङ्गोमा संयुक्त राष्ट्र संगठन स्थिरीकरण मिशनमा महिला दल र अबेईको लागि संयुक्त राष्ट्र अन्तरिम सुरक्षा बल सामेल छन्। यस अवसरमा रक्षामन्त्रीले भारतको समृद्ध तथा उल्लेखनीय शान्ति स्थापना यात्राको एक चित्रात्मक संकलनको पनि अनावरण गरे। देशको शान्ति स्थापना इतिहासलाई प्रदर्शित गर्ने एक फोटो प्रदर्शनीको पनि आयोजन गरियो। संयुक्त राष्ट्रमा भारतको स्थायी प्रतिनिधि रूचिरा कम्बोजले एक भीडियो सन्देशको माध्यमबाट कार्यक्रमलाई सम्बोधन गरिन्। कार्यक्रममा चीफ अफ् डिफेन्स स्टाफ जनरल अनिल चौहान, भारतको लागि संयुक्त राष्ट्रको रेजिडेन्ट कोअर्डिनेटर शोम्बी शार्प एवं रक्षा मन्त्रालय तथा विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति थियो। -हिस









