चार वर्षमै ह्वात्तै किन घट्यो सिक्किममा पर्यटकहरूको आगमन?

00-1-A-Pix-1

सिक्किम उत्तरपूर्वी भारतको एउटा सुन्दर हिमाली राज्य हो। यसको उत्तर र उत्तरपूर्वमा तिब्बत, पूर्वमा भुटान, पश्चिममा नेपाल र दक्षिणमा पश्चिम बङ्गालको सिमाना छ। सिक्किम सबैभन्दा कम जनसंख्या भएको र भारतीय राज्यहरूमध्ये क्षेत्रफलमा दोस्रो सबैभन्दा सानो राज्य हो।

राज्यको लगभग ३५% अंश कञ्चनजङ्घा नेशनल पार्कले ओगटेको छ। १७औं शताब्दीमा नामग्याल वंशद्वारा स्थापित गरिएको सिक्किम राज्यले जनमत संग्रहपछि सन् १९७५ मा भारतको २२औं राज्यको रूपमा मान्यता पायो। आधुनिक सिक्किम एक बहुजातीय र बहुभाषिक भारतीय राज्य हो। राज्यका आधिकारिक भाषाहरू अंग्रेजी, नेपाली, लेप्चा, भुटिया हुन्। राज्यमा संस्कृति र परम्पराको संरक्षणका लागि गुरुङ, लिम्बु, मगर, मुखिया, नेवार, राई, शेर्पा र तामाङ भाषालाई थप आधिकारिक भाषाको रूपमा मान्यता प्रदान गरिएको छ।  सिक्किमको अर्थतन्त्र धेरै हदसम्म कृषि र पर्यटनमा निर्भर छ।

देश र विश्वले सिक्किम भन्नसाथ पर्यटन बुझ्छन्। यहाँको सुन्दर, हरियाली, शान्त, सौम्य वातावरणमा सबै रमाउन आतुर हुन्छन्। सिक्किमको पर्यटनलाई छह वर्गमा बाँडेर हेर्न सकिन्छ। १. तीर्थ पर्यटन, २. ग्रामीण पर्यटन, ३. साहसिक पर्यटन, ४. बुद्धिस्ट सर्किट पर्यटन, ५. हेरिटेज पर्यटन, ६. एमआईसीई (मिटिंग, इन्सेन्टिभ, कन्फरेन्स एण्ड एक्जिविसन)/बिजिनेस टुरिजमl सिक्किम पर्यटन विभागका एक वरिष्ठ अधिकारीले राष्ट्रिय अंग्रेजी दैनिक ‘हिन्दुस्तान टाइम्स’ अनि ‘पीटीआई’लाई दिएको तथ्यअनुसार सन् २०१९ मा १६ लाख देशी/विदेशी पर्यटकहरू सिक्किम भित्रिएका थिए। जुन अहिलेसम्मकै रेकर्ड हो। पर्यटकहरूलाई सिक्किमको सुन्दर, हरियाली सौन्दर्यले मात्र आकर्षित गरेको होइन, तर यहाँको शान्ति, सुरक्षा पनि यसको मुख्य कारण हो। राज्यमा सुशासन छ भने कानुन व्यवस्था राम्रो हुन्छ। कानून व्यवस्था राम्रो भए सबै सुरक्षित हुन्छन्। सुरक्षित महसुस भए सबै खुल्ला आकाशमा रमाउन आउँछन्। तर सन् २०१९ को मध्यबाट नयाँ सरकारले सत्ता सम्हालेपछि भने पर्यटन व्यवसाय बिस्तारै धरासायी बन्दै गयो। हालमा सिक्किममा पर्यटकहरूको आगमन सन् २०१९ को तुलनामा ५०  प्रतिशत घटेको छ। राज्यमा अहिले मुश्किलले वर्षमा चार पाँच लाख पर्यटकहरू भित्रिरहेका छन्।

सिक्किमको राजस्वको मुख्य स्रोत पर्यटन व्यवसाय राज्यवासीको आम्दानीको पनि मुख्य स्रोत हो। करिब ७५ प्रतिशत मानिसहरू पर्यटनसित प्रत्यक्ष वा परोक्ष रुपमा जोडिएका छन्। यसमा टुर अपरेटर, होटल व्यवसायी, होमस्टे सञ्चालक, व्यापारी, भेन्टर, ट्याक्सी चालक आदि प्रमुख हुन्। कृषिपछि राज्यको दोस्रो धेरै रोजगार सिर्जना गर्ने क्षेत्र पर्यटनले करिब ७८ हजार ८ सय व्यक्तिहरूलाई रोजगार दिएको आँकड़ा उपलब्ध छ। चरम पर्यटन मौसममा सबै होटल, होमस्टे र लजहरू पूर्ण रूपमा भरिभराउ हुन्थ्यो, तर अहिले यस्तो स्थिति छैन। जसले गर्दा टूर अपरेटर, होटल व्यवसायी, व्यापारी, विक्रेता र ट्याक्सी चालकहरू सबैभन्दा बढी प्रभावित बनेका छन्। पर्यटन उद्योगमा देखिएको अस्थायी मन्दीको कारणले पनि सिक्किममा बेरोजगारी दर बढेको छ। सन् २०१९ मा १.२ प्रतिशत रहेको बेरोजगारी दर बढेर अहिले २०.७ प्रतिशत पुगेको छ। जुन गम्भीर चिन्ताको विषय हो।

पूर्वको सरकार विभागीय विशेषज्ञको टोली लिएर विदेश भ्रमणमा जान्थे। उनीहरू पर्यटनसित जोडिएका पूर्वाधार, सूत्रहरू बुझेर आउँथे र सिक्किममा कार्यान्वयन गर्थे। यस क्रममा पूर्वको एसडीएफ सरकारले सिक्किमको राजधानी गान्तोकको मुटु मानिने एमजी मार्गलाई विदेशी ढाँचामा सुन्दरीकरण गऱ्यो जहाँ वर्तमान सरकारले केही दिनअघि मात्र जी-२० सम्मेलनको मुख्य कार्यक्रम आयोजना गरेको थियो। पूर्व सरकारकै देनको कारण विश्वस्तरको यसप्रकारको पूर्वाधारले सिक्किमको नाक राख्यो। त्यसरी नै दक्षिण सिक्किमको नाम्चीस्थित सेन्ट्रल पार्क पनि पूर्व सरकारकै देन हो। यति मात्र होइन, दक्षिण सिक्किमकै साम्ड्रुप्चेमा निर्माण गरिएको ११८ फिट अग्लो गुरु पद्मसम्भवको भीमकाय मूर्ति, नाम्चीकै सोलोफोकको चारधाम जहाँ केही महिनाअघि मात्र पहिलोचोटि सिक्किम भ्रमणमा आएकी देशकी राष्ट्रपति द्रौपदी मुर्मूले दर्शन गरेकी थिइन्, राभाङलाको बुद्ध पार्क, पश्चिम सिक्किमको तेन्जिङ हिलेरी पार्क, पेलिङस्थित ग्लास स्काइवक, चेरेजीको विशाल मूर्ति, गान्तोक-देउरालीको रोपवेको निर्माणलगायत याङगाङमा हालैमा देशकी वित्तमन्त्री निर्मला सीतारमणद्वारा उद्घाटन गरिएको रोप वे पनि पूर्व एसडीएफ सरकारकै परियोजना हो। नथुला पास खोलिनु र त्यहाँ व्यापारसितै पर्यटनमा नयाँ आयाम थपिनु, सिक्किम भएर कैलाश पर्वतसम्म तीर्थयात्रीहरू पुग्न पाउनु पनि एसडीएफ सरकारकै योगदान हो।

त्यसरी नै पाकिममा बनाइएको ग्रीनफिल्ड एयरपोर्टले विदेशी तथा स्वदेशी पर्यटकहरूलाई सिक्किम भित्रिन धेरै सजिलो र सुविधा प्रदान गरेको छ। त्यसै पनि हवाई जहाजमा आउने पर्यटकहरू शौकिन र खर्चालु हुने भएकाले यस्ता पर्यटकहरू राज्यमा भित्राइनु धेरै फाइदाजनक हुन्छ। जुन काम एसडीएफ सरकारले पाकिम हवाई अड्डा निर्माण गरेर पुरा गरेको छ। यतिमात्र होइन, एसडीएफ सरकारकै समयमा शुरु भएको सेवक-रम्फु रेल्वे परियोजना पनि यही सन् २०२५ मा पूर्ण हुने लक्ष्य राखिएको छ। यदि यो कार्यान्वयन भए सिक्किम हवाई, रेल र सड़क तीन मार्गसित जोडिनेछ जसमार्फत सिक्किममा पर्यटनले नयाँ उँचाइ पाउनेछ।

सन् २०१९ को मध्यसम्म एक स्थायी सरकार रहेकोले पर्यटनसित जोडिएका विभिन्न हितधारकहरूको सरकारमाथि भरोसा थियो। देशकै शान्तिमय राज्यको रूपमा परिचित सिक्किममा घुम्न आउनेहरू यहाँको सुरक्षालाई लिएर निस्फिक्री थिए। सपरिवार घुम्न आउँथे, सिक्किमको शान्त, सुन्दर माहौलको रसपान गरेर सन्तुष्ट भएर पुनः आउने सपना बोकेर फर्किन्थे।

तर सन् २०१९ को मध्यबाट सरकार परिवर्तन भएकोले यसको असर बिस्तारै विभिन्न क्षेत्रमा पर्दै गयो। असर सकारात्मक भन्दा बढी नकारात्मक हुँदै गएको छ। शान्त सिक्किम केही समयदेखि अशान्त बन्दै गएको छ। राज्यमा राजनीतिक हिंसा, जम्मू-कश्मीरजस्तो ढुंगा-मुढा गर्ने काम, आक्रमण बढेकोले राज्यवासीमा असुरक्षाको भावना सृजना हुन थालेको छ जसको प्रत्यक्ष प्रभाव सिक्किमको पर्यटनमा पनि पर्न गएको छ। पहिला सिक्किम भन्दा पर्यटकहरू ढुक्क हुन्थे। तर गत केही वर्षदेखि भने सिक्किम आउने पर्यटकहरू खुलेर रमाउन सकिरहेका छैनन्। पहिला हप्ता दिनसम्म बस्ने पर्यटकहरू दुई दिन मात्र बसेर फर्किँदैछन्। टुरिस्ट रिजनमा भीडभाड हुने राज्यको राजधानी एमजी मार्ग हिजआज भीडको प्रतिक्षा गरिरहेको छ। गाउँ- बस्तीका होमस्टेहरूमा पर्यटकहरू जान सकिरहेका छैनन्। गाउँ-बस्तीमा टुरिजम चौपट भएको छ। गाउँ-बस्तीका मानिसहरूको आयको मुख्य स्रोत नै अहिले धरमराइरहेको अवस्थामा छ जसले गर्दा राज्यको पर्यटनसित जोडिएका मानिसहरूको चिन्ता दिन दुई गुणा रात चौगुणा बडेर गइरहेको छ।

विश्वप्रसिद्ध ट्राभल जर्नल ‘लोनली प्लानेट’-ले सन् २०१४ मा घुम्नका लागि विश्वको सबैभन्दा श्रेष्ठ ठाउँ सिक्किमलाई चुन्दै पर्यटकहरूलाई सुझाएको थियो-‘बेस्ट प्लेस टु भिजिट इन द वर्ल्ड’ यसैगरी, विश्वकै लोकप्रिय अमेरिकी पत्रिका ‘न्यू योर्क टाइम्स’-ले सन् २०१६ मा विश्वभरिका ५० ठाउँलाई घुम्नका लागि ‘श्रेष्ठ स्थान’ घोषित गरेर सूची नै जारी गरेको थियो, त्यसमा सिक्किम पनि एउटा थियो। यसरी पूर्व मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा रहेको सरकारमा सिक्किमको पर्यटन राज्यको एउटा प्रमुख राजस्व आयको स्रोत थियो अनि पर्यटन व्यवसायसँग जोड़िएका मानिसहरूको आय पनि दोब्बर-तेब्बर बनेको थियो। तर वर्तमान सरकारमा सिक्किमको पर्यटन ओरालो लागेको स्थितिमा छ। ग्रामीण पर्यटन, तीर्थ पर्यटन र होमस्टेका कारण गाउँ-बस्ती पनि मालामाल बनेका थिए। तर अहिले आयको स्रोत स्याप्पै सुकेको छ। सुनिन्छ, अहिले गाउँ-बस्तीमा पैसा छैन। ग्रामीण जनताको आय घटेकोले उनीहरूको क्रय क्षमता पनि ह्वात्तै घटेको छ। बढ्दो बेरोजगारी अनि रोजगारका अवसरहरू सिर्जनामा नीतिगत एवं कार्यगत पहलहरू नभएकाले आयका स्रोतहरू सुक्दै गइरहेका छन्।

पर्यटन व्यवसाय फस्टाउन र विकास गर्नका लागि राज्यमा सुशासन कतिको आवश्यक रहेछ भन्ने कुरा सिक्किमको खस्कँदो पर्यटन व्यवसायको स्थितिले छर्लङ्ग पारेको छ। पर्यटक आफै घुम्न आउँदैनन्, उनीहरूलाई आकर्षण गर्न ठाउँ मात्र पर्याप्त हुँदैन, राज्यको माहौल, परिवेश र वातावरण पनि उत्तिकै शान्त र ढुक्कको हुनुपर्छ भन्ने कुरा पर्यटन व्यवसायको मूल मन्त्र नै हो। वर्तमान सिक्किममा यो परिस्थिति छैन। यस्तो परिस्थिति नभएपछि सिक्किम आउने पर्यटकहरू अन्यत्र जानु स्वाभाविक छ। यो चर्को गर्मी मौसममा यतिबेला सिक्किमका होटल तथा होमस्टेहरूमा खुट्टा हाल्ने ठाउँ नहुनुपर्ने हो। गर्मीका कारण मानिसहरू हिल स्टेशनतिर जान आतुर छन्। तर चार-पाँच वर्षमै राज्यको छवि पर्यटकहरूका नजरमा गिर्दै गएकोले सिक्किम पर्यटकहरूको पहिलो रोजाइमा नरहेको स्पष्ट देखिन आएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *