खरसाङ: पहाड़मा लगभग २३ वर्षपछि पञ्चायत चुनाव हुन गईरहेको छ। यसपाली हुने पञ्चायत चुनावमा खरसाङ खण्डको १४ वटा ग्राम पञ्चायतहरूमा रहेका ९७ वटा कन्सिटोइन्सीहरूमा पञ्चायत सदस्यको लागि १२७ वटा सिटहरू अनि पञ्चायत समितिमा जम्मा ३१ वटा सिटहरू रहेका छन्। यसपालीको पञ्चायत चुनावमा खरसाङ खण्डको १४ वटा ग्राम पञ्चायतहरूमा रहेको १२७ वटा पञ्चायत सिटहरू र ३१ वटा पञ्चायत समितिको सिटहरूमा प्रतिद्वान्दिता हुने पक्का भएको छ। खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वासले बताए अनुसार खरसाङ खण्ड अन्तर्गत पर्ने १४ ग्राम पञ्चायतहरूमा १२७ जना पञ्चायत सदस्यहरू र ३१ जना पञ्चायत समितिको चुनावको लागि ९८ वटा बुथहरू रहेको र सन्त मेरिजमा एक अतिरिक्त बुथ रहेको जानकारी गराएका छन्। उनले बताए अनुसार पञ्चायत चुनावको लागि गत ९ जूनदेखि नै नामांकन पत्र बुझाउने समय शुरु भए पनि ९ र १० जूनको दिन कसैले नामांकन पत्र बुझाएनन्। तर आज सोमबारको दिन चारजना निर्दलीय प्रार्थीहरूले नामांकन पत्र बुझाएका छन्। खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वास अनुसार पञ्चायत चुनावको लागि नामांकन पत्र बुझाउने अन्तिम मिति १५ जून रहेको छ भने १७ जूनको दिन नामांकन पत्र जाँच हुने अनि प्रार्थीहरूले आफ्नो नामांकन पत्र २० जूनसम्ममा फिर्ता लिन सक्ने जानकारी गराएका छन्। खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वासले जानकारी गराउँदै भने, पञ्चायत चुनावको लागि खरसाङ खण्ड अन्तर्गत १४ वटा ग्राम पञ्चायतहरूका लागि सिट आरक्षण अन्तर्गत अनुसूचित जनजातिको लागि सिट जम्मा ४१ रहेको छ जसमा अनुसूचित जनजातिको महिला सिट १७ रहेको छ। त्यसरी नै अनुसूचित जातिको लागि जम्मा १३ सिट छन् जसमा अनुसूचित जाति महिलाको ७ सिट आरक्षण रहेका छन्। त्यसरी नै अन्य पछौटे वर्गको लागि ५ सिट छन् जसमा महिला सिट २ आरक्षण रहेका छन्। त्यसरी नै जेनेरलमा ५९ सिट आरक्षित छन्। खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटा ग्राम पञ्चायतहरूमा पञ्चायत सदस्यहरू १२७ र पञ्चायत समितिमा ३१ सिटहरूका लागि १ जनवरी २०२३ को गणना अनुसार लगभग ८२ हजार ७ सय ७ मतदाताहरू रहेको जानकारी प्राप्त भएको छ।










