कालचिनीमा नामाङ्कनको आज तेस्रो दिन पनि शान्तिपूर्वक माहौल, तृणमूलले गरेन नामाङ्कन

bbe24d3e-eeb8-44b3-8416-ed02944eea56

कालचिनीः नामाङ्कनको आज तेस्रो दिनसम्म भाजपा लगायत बाम र कंग्रेस एवम् निर्दलीय प्रार्थीहरूले धमाधम नामाङ्कन गरिरहँदा पनि सत्तारूढ़ दल तृणमूलले भने आज पनि कसैको नामाङ्कन जमा दिएको छैन। तृणमूलभित्र पञ्चायतको टिकटको होड़बाजी चलिरहेको देख्न पाईएको छ भने दलीय अन्तर्द्वन्द चलिरहेको यस घड़ीसम्म पनि तृणमूल अलिपुरद्वार जिल्ला कमिटीले प्रार्थीहरूको घोषणा गर्न अप्ठ्यारोमा परिरहेको जान्नमा आएको छ। यता विरोधी खेमामा रहेका भाजपा, कंग्रेस, बाम र निर्दलीय प्रार्थीहरूले नामाङ्कन शान्तिपुर्वक चलिरहेको बताएता पनि सत्तारूढ़ दलले नामाङ्कन जमा दिने बेला नै शान्ति कायम रहने छ वा छैन थाह पाउने जनाएका छन्।
तृणमूलको अञ्चल तहबाट नै टिकट लिएर आन्तरिक घम्साघम्सी चलेको सम्बन्धमा भने तृणमूल नेताहरूले केही टिप्पणी गर्न अस्वीकार गरेका छन्। यता तृणमूलका पूर्व जिल्ला उपाध्यक्ष पदमा रहेकी कालचिनी खण्डको मेन्दाबारी ग्राम पञ्चायत क्षेत्रका बासिन्दा इन्दु राय सिंहले वर्तमान तृणमूल नेताहरूले सकारात्मक सम्बन्ध नराखेपछि आफूले कंग्रेसको पक्षबाट आज नामाङ्कन जमा गरेको बताएकी छन्। अर्कोतिर भाजपा ७ नम्बर मन्डल सभापति राजेश छेत्रीले प्रायः ७० प्रतिशत प्रार्थीहरूले नामाङ्कन जमा गरिसकेको र यसपालीको पञ्चायत भोटमा विपुल मतले आफूहरू विजयी हुने ठोकुवा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement