गान्तोकः सिटिजन एक्सन पार्टी सिक्किमले विभिन्न मुद्दामा सरकारको तीव्र आलोचना गरेको छ। पार्टीले विशेष गरेर टिस्टा उर्जा संलग्न कम्पनीबाट पार्वती मगरलाई गरिएको निष्कासन, दक्षिण जिल्लामा ओएफओजे कर्मचारीको निष्कासन, सिक्किम गरीब आवास योजना अन्तर्गत निर्माण गरिएको घरको गुणवत्ता, पशुहरूमा लागेको लम्पी रोग, गान्तोकमा पिउने पानीको समस्या लगायतका विषयहरूमा सरकारलाई घेराउ गर्दै सरकारी कार्यप्रणालीको आलोचना गरेको छ।
सोमवार गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर सिटिजन एक्सन पार्टी सिक्किमका प्रवक्ता टिकाराम शर्मा, वीणा शर्मा र प्रकाश पराजुलीले एसकेएम सरकारको आलोचना गरेका हुन्। उनीहरूले मुख्यमन्त्री पीएस गोलेले पश्चिम सिक्किममा गरेको जनता भेट कार्यक्रमबाट नोकरीको नियुक्ति पत्र वितरण गरेको विषयको पनि कडा आलोचना गरेका छन्। ओएफओजेमा सेवारत कर्मचारी लगायत अन्यको निष्कासनबारे सरकारमाथि प्रश्न उठाउँदै निष्कासित कर्मचारीलाई एक सप्ताहभित्र सम्मानपूर्वक पुनर्बहाली नगरे पार्टीले निष्कासित कर्मचारीको पक्षमा आन्दोलन तीव्र गर्ने चेताउनी पनि प्रवक्ताहरूले दिएका छन्।
नोकरी निष्कासन विषयलाई लिएर पार्टीले राज्यको श्रम विभाग र उर्जा विभागमा पत्राचार पनि गरिसकेको जानकारी दिंदै एक हप्तासम्ममा सबै निष्कासित कर्मचारी बहाली गर्नुपर्ने पार्टीले माग उठाएको छ। एकतर्फ सरकारले १६ हजारलाई नोकरी दिने भनेको र अर्कोपटी कार्यरत विभागमा आवश्यकता छैन भन्दै कर्मचारी निष्कासन गरेको विषयले एसकेएम सरकारको दोहोरो चरित्र सार्वजिक भएको छ भन्दै सिटिजन एक्सन पार्टीका प्रवक्ताहरूले युवाहरूको भविष्यसँग खेलवाड नगर्न सरकारलाई चेताउनी दिए।
निष्कासित कर्मचारीहरूमा महिलाहरूको सङ्ख्या बडी रहेको दाबी गर्दै एसकेएम सरकारले नारीहरूलाई प्रताडना गर्न विभिन्न औजार र माध्यम प्रयोग गरिरहेको प्रवक्ता वीणा शर्माले आरोप लाइन्। राज्यमा भएका विभिन्न महिला हिंसा, नोरकीबाट निष्कासन आदि मुद्दामा राज्य महिला आयोग, बाल आयोग, सामाजिक कल्याण विभाग र मन्त्रीको मौनतामाथि प्रश्न उठाउँदै एसकेएम सरकार कालमा महिलाहरू धेरै प्रताडित भएको दाबी गरिन्।
सिटिजन एक्सन पार्टी प्रवक्ता प्रकाश पराजुलीले एसपीएससीको कार्यप्रणाली र सरकारले जनभेट कार्यक्रम अन्तर्गत युवाहरूलाई दिएको नियुक्ति बारे प्रश्न खडा गर्दै राज्यका युवाले आफ्नो शैक्षिक योग्यताका आधारमा नोकारी पाउने अवस्था सिक्किममा समाप्त भएको र नोकरी पाउन सत्ताको र मुख्यमन्त्रीको लोलोपोतो गर्नुपर्ने अवस्था सिर्जना भएको आरोप लगाए। शिक्षित युवाहरूका लागी सरकारले राम्रो भर्ती परीक्षा आयोजन गर्न नसकेको र एसपीएससीले मुख्यमन्त्रीको आदेशमा काम गरेको बताउँदै एसकेएम सरकारले राज्यका शिक्षित युवाको आशा र भरोसा नष्ट गरिरहेको आरोप लगाए।
मुख्यमन्त्री गरीब आवासा योजना अन्तर्गतका घर आवन्टित धनराशिको आधारमा निर्माण नभएको र यसमा कमिशनको खेल चलिरहेको भन्दै यस्ता घरको गुणात्मकता सिद्द गराउन सरकारलाई चुनौति दिए। उनले भने, “हामीले जनताका घर नबनाउनु, युवाहरूलाई नोकरी नदिनु भनेको होइन तर नोकरी सम्मानपूर्वक दिइनुपर्छ अनि जनताका घर आवन्टित धनराशि अनुरुप गुणात्मक बनिनुपर्छ। गान्तोकमा पिउने पानी लगातार समस्या भइरहेको कारण मानिसहरूले कठिनाई भोग्नु परेको तर सरकारले मेगा कन्स्ट्रक्सन गर्नेलाई पानी सप्लाई गरेर पुँजिवादीलाई समर्थन गर्ने र जनतालाई समस्यामा पार्ने काम गरेको पराजुलीले आरोप लगाए।
उनले लम्पी रोगबारे पनि पशुपालन विभाग र सरकार गम्भीर नरहेको भन्दै बाहिरबाट ल्याएका गाइको स्वास्थ्य जाँच नगरी वितरण गर्दा रोग भित्रिएको र अहिले जनताको जीविकोपार्जनको माध्यम सङ्कटमा परेको बताए। यस बाहेक सरकारी विभागमा सेवारत श्रमिकहरूका लागि सरकारले घोषणा गरेको न्यूनतम ज्याला पनि “ललिपप” मात्र साबित भएको पार्टीका प्रवक्ता पराजुलीले आरोप लगाए।