बाल्यकाल तुहाउने बालश्रम

00-1-Child-Labour-Rep-image-copy-1

उनीहरू जो कसैका छोराछोरी हुन्, उमेरको हिसाबले हेर्ने हो भने उनीहरूको समय हो आमाको ममतामय काखमा लुटुपुटु गर्ने, बाबुको आङ्मा बुइँ चढ्ने, मसिना मसिना कुराहरूमा दङ्ग्याउने, रमाउने…ती निर्दोष, कोमल हृदय भएका कयौँ बालकबालिकाहरू आज जसले हाँस्दै, रमाउँदै खेल्ने समयमा विभिन्न किसिमको अमानवीय यातना सहेर नुनिलो आँसुको घुटको पिउँदै बाल श्रमिक बन्नु बाध्य हुनुपरेको छ।

कयौँ नानीहरू आज बाल श्रमिकको बिल्ला भिरेर आफ्नो सुनौलो बाल्यकाल गुमाएर काँडासरिको जीवनको अन्धकार मार्गमा हिडिरहेका छन्। उनीहरू गुमनाम बनेर आज कसरी समाजमा हुर्किरहेका छन्? बाल श्रमिक बनेर नै कयौंले आफ्नो बाल्यकाल गुमाइरहेका छन्। यस वर्ष २०२३ को अन्तर्राष्ट्रिय बालश्रम विरोध दिवसको थीम रहेको छ सबैका लागि सामाजिक न्यायl बालश्रम अन्त्य गरौँ!’। 

भनिन्छ आजका बालबालिकाहरू भोलिको समाज र देशका बलिया धरोहर हुन्। तर, देश र समाजका बाल्यकाल आज आफ्नो सुनौलो भविष्यलाई बालश्रमभित्र कैद गरेर कसैको घरलाई सिनिक्क, चिटिक्क परिरहेका छन् भने आफ्नो कोमल बाहुको भरमा कसैको व्यापारमा कमारो झैँ खटिरहेका छन्। यद्दपि भारत सरकारले बालश्रमलाई पूर्ण रूपले समाप्त गर्न कयौँ कार्यक्रमहरू लिएर पाइला चालिरहेको छ। दशकौँदेखि भारतले बालश्रमको समस्या गाडे घाउकै रूपमा झेल्दै आइरहेको छ। तर, यस्तो समस्या भारतमा मात्र सीमित छैन यो एक वैश्विक समस्या हो। वर्तमान समयको परिदृश्यलाई हेर्दा बालश्रमबाट बालबालिकाहरूलाई मुक्त राख्ने दिशामा भारत अझ पनि कोशौं टाडो रहेको छ।

                           बाल श्रमिक र शोषणका कारणहरू  

बालश्रम साधारण रूपमा बिना पैसा वा पैसा दिएर नानीहरूलाई शारीरिक रूपमा खटाएर काम गराउनु हो। नानीहरूलाई बाल श्रमिकको रूपमा राख्नु सबैभन्दा सजिलो हो, न त उनीहरूले कुनै विशेष माग गर्छन् न त श्रमको ज्याला बढाइ माग्छन् न त कुनै विषय लिएर विरोध नै जनाउन सक्छन्। यसैले धेरै जस्ता ठाउँहरूमा थौरे पैसा दिएर वा बिना पैसामा केही भुक्तान नगरि नानीहरूलाई काम गर्न बाल श्रमिकको रूपमा राखिन्छ। भारतीय संविधानअनुसार कुनै पनि उद्योग, कल-कारखाना वा कुनै कम्पनीमा मानसिक वा शारीरिक श्रम गर्ने ५ देखि १८ वर्षसम्मका बालबालिकाहरूलाई बाल श्रमिक भनिन्छ। अन्तर्राष्ट्रिय श्रमिक संगठनद्वारा बाल श्रमिकको उमेर १५ साल तय गरिएको छ। संयुक्त राष्ट्र संघका अनुसार १८ वर्षभन्दा कम उमेरका श्रम गर्नेहरू बाल श्रमिक हुन्। यसमा १४ देखि १८ वर्षसम्मकाहरूलाई जोखिमपूर्ण ठाउँमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ।

भारतमा विभिन्न उद्योगहरू जस्तै ईटाभट्टी, कोइलाखानी, बिडी, बेकरी, गलैँचा, लुगा, जुत्ताका कारखानाहरू, होटल, रेस्तोराँ, चिया पसल, खेतीपाती, गराजहरू साथै घरको कामधन्दामा बालबालिकाहरूलाई बाल श्रमिकको रूपमा काम गर्न राखिन्छ। बाल श्रमिकको रूपमा काम गर्दा उनीहरूले धेरै जोखिम उठाउनु पर्दछ। यसरी काम गर्ने बालबालिकाहरू अन्य कयौँ किसिमका शोषणसँगै यौन उत्पीड़नको शिकार पनि हुँदछन्। यसबाहेक चाइल्ड पोर्नोग्राफीको निम्ति प्रयोग गर्ने खतरा पनि हुँदछ।

बाल श्रमिक र शोषणका कयौँ कारणहरू छन्, जसमा गरिबी, सामाजिक असमानता, रोजगारको अवसरहरूमा कमि हुनु मुख्य रहेको छ। समाजमा तीन वर्गका मानिसहरू छन् उच्च वर्ग (बुर्जवा अर्थात पुँजीपति वर्ग), मध्यम वर्ग र निम्न वर्ग। यी तीनैवटा  वर्गमा  एकअर्का  बीच समानता हुँदैन। उच्च वर्गले मध्यम वर्ग र निम्न वर्गलाई पेल्छन् अनि निम्न वर्ग दुवैको जाँतोमा पिसिन्छन्। कयौँ यस्ता परिवारहरू छन्, जहाँ आमा-बाबु रोजगारविहीन छन् जसको कारणले गरिबीको चरम अवस्थामा पुग्दा आफ्ना साना नानीलाई बाल श्रमिकको रूपमा काम गर्न पठाउन बाध्य हुन्छन्। गरिबीले प्रताडित आमाबाबु नानीलाई पाठशालामा पढ्न पठाउनु भन्दा बढी परिवारको आयको निम्ति कठिन काम गर्नपर्ने ठाउँमा पठाउन इच्छुक हुन्छन्। बाल श्रमिक राख्नु अमानवीय हो साथै कानुनी अपराध हो भन्ने कुरालाई कसैले वास्ता गर्दैनन्।

                            सशक्त कानून लचिलो कारबाही  

भारतमा सरकारले बालश्रम समाप्त गर्न सशक्त कानून बनाएको छ तर, कारबाही लचिलो हुन्छ। भारतमा सरकारले बालश्रमलाई पूर्ण रूपले समाप्त गर्न सन् २०१६ मा बालश्रम निषेध  एवं नियमन ऐन १९८६ लाई संशोधन गरेर बाल अनि किशोर श्रम निषेध एवं नियमन ऐन १९८६ (चाइल्ड एण्ड एडोल्सेन्ट लेबर-प्रोहिबिशन एण्ड रेगुलेसन्स् एक्ट १९८६) बनाइएको छ। यस ऐनअन्तर्गत १४ वर्ष देखि मुनिका बालबालिकाहरूलाई कुनै पनि ठाउँमा अनि १४ वर्षदेखि १८ वर्षसम्मका किशोरहरूलाई जोखिमपूर्ण ठाउँमा काम गर्न राख्नु कानुनी अपराध ठहर गरिएको छ। यदि कहीँ पनि यस्तो स्थिति भेटाइए छह महिनादेखि दुई वर्षसम्मको कारावास हुनसक्छ। यसका साथै २० हजारदेखि ५० हजार रूपियाँ जरिमाना तिर्नुपर्ने हुन्छ। यो जरिमानाको रकम चाइल्ड एण्ड एडोलसेन्ट लेबर रिह्याबिलिटेशन फण्डमा ब्याङ्क मार्फत जमा गराइन्छ। यो रकम नानीको नाममा फिक्सड डिपोजिट वा कुनै पोलिसीको रूपमा जमा गरिन्छ अनि १८ वर्ष पुगेपछि नानीले यो रकम पाउँछन्I

                            बालश्रमबाट उत्पन्न हुने समस्या

सर्वप्रथम बालश्रम सामाजिक, आर्थिक र राष्ट्रिय समस्या हो। बालश्रम र शोषणको निरन्तर उपस्थितिले देशको अर्थ व्यवस्थालाई खतरा हुँदछ अनि यसले नानीहरूमाथि गम्भीर अल्पकालीन र दीर्घकालीन दुष्परिणाम हुँदछ, जस्तै शिक्षाबाट वञ्चित हुन्छन् अनि उनीहरूको शारीरिक एवं मानसिक विकासमा नराम्रो असर पर्दछ। बालश्रमबाट नानीहरू शिक्षाबाट टाडिने हुँदा न त उनीहरूलाई अनुशासनको ज्ञान हुन्छ न त समाज न त भविष्यको नै, न त आफूसित भएको प्रतिभालाई उजागर गर्न सक्छन्। प्रायः जस्ता ठाउँहरूमा काम गर्ने वातारण सफा र स्वच्छ नहुँदा नानीहरूको स्वास्थ्यमा नराम्रो असर पर्छ, यसले गर्दा कयौँ किसिमका रोगहरू लाग्ने प्रबल सम्भावना रहन्छ। काम गर्ने ठाउँमा नानीहरूसित दुर्व्यवहार हुने हुँदा शारीरिक यातना भोग्नु पर्ने हुन्छ अनि यसले गर्दा कति मानसिक दाबावमा परेर अवसादले ग्रस्त हुँदछन्।

नानीहरू कुनै अपराधी प्रवृतिका व्यक्ति, गिरोह वा गैरकानुनी व्यवसायमा तस्करीको माध्यमबाट वा कुनै किसिमले बाल श्रमिकको रूपमा काम गर्न पुगे त्यो अर्को सबैभन्दा ठूलो जोखिम र असुरक्षा हुन्छ। यसमा नानीहरूलाई थुप्रै किसिमको गलत कार्यहरू गराइन्छ कसैलाई भीख माग्न, कसैलाई ड्रग्स ओसारपसारको गैरकानुनी धन्दा, पकेटमारीको धन्दामा लगाइन्छ भने अपराधसमेत गर्न सिकाइन्छ। काम गर्ने ठाउँमा दुर्व्यसनको माहोल छ भने त्यस्ता ठाउँमा नानीलाई पनि दुर्व्यसनी बनाइन्छ। यदि यस्तो कुनै किसिमको गिरोह वा व्यक्तिका अधीनमा बालिकाहरू बाल श्रमिकको रूपमा परे सर्वप्रथम यौन शोषणको शिकार हुँदछन् साथै यौन व्यापारमा पनि लगाइन्छ।  

कारखाना, व्यावसायिक क्षेत्रमा मात्र नभएर घरैमा काम गर्ने कयौँ नानीहरू पनि सुरक्षित हुँदैनन्। कोही मानसिक, शारीरिक यातनाद्वारा प्रताडित हुन्छन् भने बालिकाहरू यौन शोषणको शिकार बन्नसक्ने जोखिम रहँदछ। यदि यौन शोषणको शिकार भइहाले उजुरी गर्न जान पनि सक्दैनन्। कुनै घरमा बाल श्रमिक राखिएको छ, अनि त्यसै घरका उसकै उमेरका नानी राम्रा स्कूलमा पढ्छन्, राम्रा लुगा लगाउँछन्, आमा-बुाबुसित लुटुपुट गरेको दृश्य उसले सधैँ देख्छन्। तर, यस्तो दृश्यले ती बाल श्रमिकको रूपमा रहेका नानीलाई पर्ने मनोवैज्ञानिक असरलाई भने ती घर परिवारले बुझ्न सक्दैनन्। बाल श्रमिकलाई परिवारकै दर्जामा राख्ने परिवार भने सयमा दश प्रतिशत भन्दा कमै पाइन्छ। समाजमा गैरकानुनी रूपमा गोद लिएको ढोङ्ग गर्दै बाल श्रमिक राख्नेहरूको सङ्ख्या पनि कम छैन।

                          यस्तो छ बाल श्रमिकहरूको सङ्ख्या

सन् २०११ को जनगणनाको आकँडाले भारतमा बाल श्रमिकहरूको सङ्ख्या एक करोड़ एक लाख देखाएको छ जसमा ५६ लाख बालक अनि ४५ लाख बालिकाहरू रहेका छन्। विश्वभरिको आकँडाअनुसार १५ करोड २० लाखमा ६ करोड ४ लाख बालिकाहरू अनि ८ करोड ८ लाख बालकहरू बाल श्रमिक रहेको अनुमान लगाइएको छ अर्थात विश्वभरिका प्रत्येक १० नानीहरूमा एकजना बाल श्रमिक छन्। तर, युनिसेफ र इन्टरनेसनल लेबर अर्गनाईजेशन (आईएलओ)को सन् २०२१ को रिपोर्टअनुसार विश्वव्यापी रुपमा बाल श्रमिकको सङ्ख्या १६ करोड पुगेका छन्l जसमा  ६ करोड ३० लाख बालिकाहरू र ९ करोड ७० लाख बालक विश्वव्यापी रूपमा बालश्रममा परेका छन्l जुन विश्वभरका बालबालिकामध्ये १० जना एक जना श्रमिक छन्। सेभ द् चिन्ड्रेनको सन् २०१६ को रिर्पोटअनुसार भारतका पाँचवटा ठूला राज्यहरू बिहार, उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश र महाराष्ट्रमा भारतभरिका बाल श्रमिकहरूको सङ्ख्यामा आधा जसो नै रहेको छ। भारतमा सबैभन्दा ठूलो सङ्ख्यामा करीब २० प्रतिशत बाल श्रमिकहरू उत्तर प्रदेशमा छन्।

                           सरकारको सकारात्मक योजना

नानीहरूको काम भनेको पाठशालामा पढ्न जानु हो, कुनै किसिमको श्रम गर्नु होइन। बालश्रम जसले नानीहरूको कयौँ बाल अधिकारहरूसँगै उज्ज्वल भविष्यको घरातल पाठशाला जाने अधिकार खोस्दछ अनि पुस्तौँसम्म गरिबीको दलदलमा फसेर निस्कन सक्दैनन्। बालश्रम शिक्षाको क्षेत्रमा सबैभन्दा ठूलो बाधा हो, जसले नानीहरूको शिक्षामा साथै प्रतिभा प्रदर्शनमा नराम्रो असर पार्दछ। बालश्रम रोक्नकै निम्ति सरकारले नेशनल चाइल्ड लेबर प्रोजेक्ट (एनसीएलपी) जस्ता कार्यक्रमबाट सम्बन्धित नानीहरूलाई विशेष समय निर्धारण गरेर शिक्षा प्रदान गर्ने व्यवस्था गरेको छ। आज भारतका प्रायः जस्ता जिल्लाहरूमा एनसीएलपीको केन्द्रहरू संचालनमा रहेको छ।

‘एनसीएलपी योजना, यो सेन्ट्रल सेक्टर स्कीम हो। यस योजनाअन्तर्गत डिस्ट्रिक्ट प्रोजेक्ट सोसाइटीहरू (डीपीएस) परियोजनालाई कार्यान्वयनको निरीक्षण गर्नका लागि कलेक्टर/जिल्लापालको अध्यक्षतामा स्थापित गरिएको छl यस योजनाअन्तर्गत, ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरूलाई कामबाट निकालेर एनसीएलपीको विशेष प्रशिक्षण केन्द्रहरूमा राखिन्छ, जहाँ उनीहरूलाई शिक्षा, व्यावसायिक तालिम, मध्यान्ह भोजन, स्टाइफण्ड, स्वास्थ्य सेवा आदि प्रदान गरिन्छl ५ देखि ८ वर्ष उमेर समूहका बालबालिकालाई सर्व शिक्षा अभियानसँग सोझै समन्वयमार्फत औपचारिक शिक्षा प्रणालीसँग जोड्ने कार्य गरिन्छ। थप रूपमा, बालश्रम ऐनका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न र एनसीएलपीलाई सहज कार्यान्वयन सुनिश्चित गर्न, पेन्सिल (प्लेटफर्म फर इफेक्टिभ इन्फोर्समेन्ट फर नो चाइल्ड लेबर) नामक एक अनलाइन पोर्टल विकसित गरिएको छ, जसको उद्देश्य एनसीएलपीलाई राम्रो परिवेक्षण गरी पारदर्शिताका साथ सफलतापूर्वक कार्यान्वयन गराउनु रहेको छl यस योजनाअन्तर्गत, कोष सोझै डिस्ट्रिक्ट प्रोजेक्ट सोसाइटीहरूलाई उपलब्ध गराइन्छ, जसले विशेष तालिम केन्द्रहरू सञ्चालन गर्न एनजीओ/भोलन्टरी एजेन्सीहरू/नागरिक समाज संगठन आदिलाई संलग्न गराउँछ, र रकम विनियोजन गर्दछ।

यस बाहेक सबैका लागि शिक्षा ‘राइट टु एजुकेशन’- नि:शुल्क अनि अनिवार्य बाल शिक्षाको अधिकार अधिनियम-२००९, महात्मा गान्धी रूरल इमप्ल्पोइमेन्ट ग्यारेटी एक्ट (एमजीआरईजीए), जस्ता सरकारी योजनाहरू प्रभावकारी रहेको छ। यसका साथै गैर सरकारी संस्थाहरूले बालश्रम रोकथाम र उनीहरूको सामाजिक विकासको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। तर, यति हुँदाहुँदै अझ पनि साना साना नानीहरूलाई जोखिमपूर्ण ठाउँहरूमा कठिन कार्यहरूमा लगाउने गरिन्छ भने धेरै ठाउँहरूमा बन्धुआ श्रमिकसमेत बनाइन्छ। मानव तस्करीविरुद्ध अभियान चलाउँदै आएको गैर सरकारी संस्था कञ्चनजङ्घा उद्धार केन्द्रद्वारा संचालित दार्जीलिङ चाइल्डलाइन खरसाङ उप-केन्द्रले खरसाङ-दार्जीलिङबाट करिब ७५ जनालाई बालश्रमबाट मुक्त गराएको छl यसका साथै श्रम विभागले पनि धेरैलाई उद्धार गरेको छl

                             मुक्तिको मार्गमा चुनौती      

बालश्रमलाई समाप्त गरेर देश साथै मानव समाजलाई बालश्रममुक्त गराउन सरकार साथै गैर सरकारी संस्थाहरूले कयौँ किसिमका योजनाहरू लिएर निरन्तर कार्य गर्दै आइरहेका छन्। वास्तवमा भन्नु हो भने बालश्रम सभ्य मानव समाजलाई लागेको एउटा कलङ्क हो। यस्तो कलङ्कबाट मुक्त गराउनु हो भने मानव समाजबाट बालश्रम पूर्णरूपले निर्मूल गराउनुपर्छ। हरेक वर्ष १२ जूनको दिन विश्व बालश्रम विरोध दिवस पालन गरिन्छ। यस दिन बालश्रममुक्त समाज बनाउन सङ्कल्प गरिन्छ। बाल श्रमिकहरूको दुर्दशालाई उजागर गरेर करोडौँ मानिसहरूलाई जागरूक गराइन्छ अनि सहयोगको निम्ति अभियान पनि चलाइन्छ। तर, अर्को दिनदेखि भने जोश र जाँगर शिथिल हुन्छ।

बाल श्रमिक उद्धार गर्ने कार्यमा कोही बेला प्रभावशाली व्यक्ति साथै राजनैतिक प्रभावका कारणले हस्तक्षेप हुँदा उद्धार गर्ने पक्षले निक्कै दबावको सामना गर्नुपर्छ। उद्धार कार्यमा थुप्रै चुनौतीहरूको सामना आइपर्दछ। चुनौतीहरूलाई चिर्नसके मात्र बाल श्रम समाप्त गर्ने अभियान प्रभावकारी हुनसक्छ। यस्तो अभियानलाई समाप्त गराउनको निम्ति शहर-बजार, गाउँ-बस्तीका सामाजिक संस्थाहरूलाई पनि सहभागी गराउनसके प्रभावकारी हुनसक्छ। बालश्रम एकीकृत दृष्टिकोणको माध्यमबाट रोक्न सकिन्छ। जुन बाल सुरक्षा प्रणालीलाई सशक्त बनाउनुका साथमा गरिबी तथा असमानता जस्ता मुद्दाहरू, गुणात्मक शिक्षाको सुअवसर अनि बाल अधिकारहरूको सुरक्षाको निम्ति जन सहयोग जुटाउनमा सहयोग गर्दछ।     

अर्को सबैभन्दा ठूलो चुनौती हो बेरोजगारी। कसैको आमाबाबु दिर्घकालीन बिमारी हुनु, कोही अनाथ हुनु, कसै आमाबाबु रोजगारविहीन बनेर आत्मनिर्भर नहुनु र गरिबी बाल श्रमिक पैदा हुने मूल कारणहरू हुन्। यसैले हरेक आमा-बाबुको रोजगार हुनु आवश्यक छ अनि बाल श्रमविरूद्ध तत्काल कारवाही, व्यापक रूपमा सशक्त जनचेतनाद्वारा समाजको मानसिकता परिवर्तन गराउने अभियानको आवश्यकता छ। यस्तै अभियानहरूलाई सशक्त रूपमा निरन्तरता दिनसके बाल श्रममुक्त समाजको सपना विपना बन्नसक्छ।­*

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement