गान्तोकः भारतीय जनता पार्टीको नाम्ची जिल्ला कार्यालयको आज पार्टीका प्रदेश प्रभारी डा. दिलीप जैश्वालको बाहुलीबाट उद्घाटन गरियो। यस अवसरमा प्रदेश अध्यक्ष डीआर थापा, विधायक दलका नेता एनके सुब्बा, मल्ली समष्टिकी विधायिका फरवन्ती तामाङ, पार्टी उपाध्यक्ष अर्जुन राई, महामन्त्रीद्वय भरत दुलाल, सुदीप प्रधान लगायत पार्टीका वरिष्ठ सदस्यगण, विभिन्न स्तरका पदाधिकारीगण एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यालय उद्घाटन समारोहमा विभिन्न क्षेत्रबाट लगभग १०० परिवारले आज भारतीय जनता पार्टीमा प्रवेश लिए।
समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रभारी डा. दिलीप जैश्वालले सिक्किममा विगत ४८ वर्षदेखि क्षेत्रीय पार्टीहरूको सरकार रहे तापनि भनेजस्तो विकास हुन नसकेको बताउँदै एकपल्ट भाजपालाई मौका दिन सिक्किमे जनतालाई आह्वान गरे। उनले भाजपाले देशभरि नै सुशासन र विकासको नारा दिएर देशवासीको सेवा गरिरहेको अवगत गराउँदै विगत ९ वर्षमा हासिल गरेका ऐतिहासिक उपलब्धिहरूमाथि पनि प्रकाश पारेका थिए। उनले आगामी १८ जूनको दिन राष्ट्रिय अध्यक्ष जेपी नड्डाको सिक्किम भ्रमण रहने र त्यस दिन राष्ट्रिय अध्यक्षले पार्टीको सिक्किमप्रतिको दृष्टिकोण तथा भावी रणनीतिमाथि विशेष सम्बोधन रहने हुनाले सम्पूर्ण सिक्किमेली जनगणलाई उक्त जनसभामा उपस्थित भइदिने अपील गरे।
यसै गरी प्रदेश अध्यक्ष डीआर थापाले सिक्किमका पुराना कानूनहरूको सही रूपमा सुरक्षा गर्ने, सिक्किमको समुचित विकास गर्दै सिक्किमलाई ऋणमुक्त बनाउने साथै आत्मनिर्भर सिक्किम निर्माण गर्ने क्षमता अब केवल भारतीय जनता पार्टीमा मात्र रहेको बताए। उनले सबै सिक्किमेली जनगण मिलेर भाजपाको हात बलियो बनाउन पनि आह्वान गरे। अर्कोतिर, विधायक दलका नेता एनके सुब्बाले पनि क्षेत्रीय पार्टीहरूको कम्जोरी औंल्याउँदै आफूहरू पनि लामो समयसम्म क्षेत्रीय पार्टीहरूमा अल्मलिए पनि सिक्किमका तमाम मुद्दाको समाधान भारतीय जनता पार्टीबाट मात्र सम्भव भएको बताए। उनले विभिन्न नाराहरू लिएर जति नै क्षेत्रीय पार्टीहरूको सरकार आएपनि वास्तविक सिक्किमे जनताका मुद्दाहरू झन संवेदनशील र जटिल बन्दै गएको बताउँदै अब भाजपालाई एकपल्ट मौका दिनुपर्ने आह्वान गरे।
समारोहलाई सम्बोधन गर्दै वरिष्ठ सदस्य छितेन टाशी भोटियाले पार्टी कार्यक्रमहरूमा विधायकहरूको उपस्थिति पातलो भएकोमा प्रश्न उठाउँदै पार्टी परिवारभित्र सबै अनुशासित भएर लागिपर्नुपर्ने कुरामा जोर दिए। उनले आगामी राष्ट्रिय अध्यक्ष जेपी नड्डाको कार्यक्रम सिक्किमको राजनीतिमा एउटा टर्निङ पोइण्ट हुनुपर्ने बताए। यसै गरी पार्टी उपाध्यक्ष अर्जुन राईले आफ्नो सम्बोधनमा क्षेत्रीय पार्टीहरूले जनतामाझ केवल भावनात्मक शोषण गरिरहेको बताउँदै अब भाजपा एकमात्र सही विकल्प रहेको बताए। समारोहलाई महामन्त्री भरत दुलालले पनि सम्बोधन गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
-हिस