जलढका: कुलैन बगानको भूमिको मालिकना हक अधिकार, सिन्कोनावासीको पर्जापट्टा अनि वन विभागको अनावश्यक हस्तक्षेपको प्रतिरोधको निम्ति लडिरहेको अराजनैतिक संगठन सिन्कोना बचाऊँ अभियानको आयोजनामा आज एक वैचारिक सङ्गोष्ठी स्थानीय सार्वजनिक भवन बरगोलाई रोङ्गोमा सम्पन्न भयो। सङ्गोष्ठीको अध्यक्षता यस अभियानका मुख्य संयोजक तथा अग्रणी श्रमिक नेता एल. एम. शर्माले गरेका थिए भने वक्ताको रूपमा श्रमिक नेतृत्वहरूमा तारा सुन्दास, सुरज सुब्बा, अनिल लोप्चन, शङ्कर पाल लगायत विधायक बी. पी. बजगाईँ अनि बगानका पूर्व व्यवस्थापक छन्दभूषण थापा मुख्यरूपमा उपस्थित थिए।
विशुद्ध रूपले अराजनैतिक संगठन सिन्कोना बचाऊँ अभियानको उदेश्य र अभीष्ट चन्दन गुरूङले वाचन गरेपछि सबैभन्दा पहिले पूर्व व्यवस्थापक सीबी थापाले बगानको वर्तमान स्थिति निकै चिन्ताजनक रहेको जनाए।अघिअघि यसरी वनविभागबाट सिन्कोना निर्देशनालयलाई कुनै हस्तक्षेप नभएकोले यो समस्या थाहा नभएको बताउँदै यो पटक ग्रेफको कार्यमार्फत सिन्कोनाको जमीनको यथास्थिति उजागार भएको जनाए।यसको निम्ति विभागीय तालमेलमा पुरानो कागजपत्र खोजतलास गरी अब भने सिन्कोनाको जमीनको अलग अवस्थान निर्धारण गर्नुपर्ने आवश्यकता भएको जनाए।
सिन्कोना बचाऊँ अभियानको यस आन्दोलनमा आफ्नो सहभागिता र साथ रहने प्रतिबद्धता जनाउँदै क्रमैले वक्ताहरू तारा सुन्दास, शङ्कर पाल, अनिल लोप्चन अनि सुरज सुब्बाले श्रमिकको यो आन्दोलनमा सबैले एकबद्ध भई साथ र समर्थन दिनुपर्ने आह्वान राखे।
मुख्य वक्ताको रूपमा विधायक बी.पी. बजगाईँले भारत स्वतन्त्रतापूर्व स्थापित सिन्कोना उद्योगको जमीनको कागजपत्र नभएको होइन तर लुकाइएको हुनसक्ने शङ्का व्यक्त गर्दै सिन्कोना समस्या लिएर आफ्नोतर्फबाट विधानसभामा अघि पनि आवाज उठाएको अनि फेरि पनि उठाउने प्रतिबद्धता जनाउँदै उनले सिन्कोना समस्या समाधानको निम्ति एउटा बौद्धिक रोडम्याप तयार गर्नुपर्ने सुझाव राखे। सरकारले विस्तारै अनेक बहाना गर्दै यो उद्योगलाई बन्द गर्ने षड्यन्त्र गरिरहेको जनाउँदै विधायकले विश्वमा अर्गानिक कुलैनको माग धेरै रहेको तर यता सरकारले सही ढङ्गमा मार्केटिङको व्यवस्थापन गर्न नसक्दा मात्र यो उद्योग घाटामा गएको हो भन्ने ठोकुवा गरे। आजको यो सङ्गोष्ठीले सिन्कोनावासीले आफ्नो घडेरी निर्माण गर्न थालेको पहलको शुभसङ्केत रहेको जनाउँदै आफूलाई आदेश दिएर काम लगाउने आह्वान गरे।
यो हाम्रो अभियान पिता-पुर्खाले स्थापना गरेको शताब्दी पुरानो उद्योगलाई बचाउनु हो। यहाँ बसोबास गर्ने जनसाधारणलाई आफ्नो गाँस-बासको सुनिश्चित गर्नु हो यसैले यहाँ सबै पार्टीका कार्यकर्ताहरूलाई आमन्त्रित गरिएको र उनले उपस्थित वक्ता, श्रोता, मिडियाकर्मी, शुभेच्छुक अनि सहयोगी सबैलाई धन्यवाद दिए। यस अभियानमा संलग्न साथीहरू पंचायत चुनावको निम्ति एक महिनाको निम्ति स्वतन्त्र छन्। यो अभियान पञ्चायत चुनावदेखि टाडै बसेको हुनाले एक महिनाको निम्ति सिन्कोना बचाऊँ अभियानको सम्पूर्ण क्रियाकलाप ठप्प रहने जानकारी दिँदै सभापति एल.एम.शर्माले यो आन्दोलनलाई सबल र सफल बनाउन शिक्षित युवा जमातलाई आह्वान गरे। कार्यक्रमलाई पत्रकार मनोज बोगटीले सञ्चालन गरेका थिए।