सोनादा: अखिल भारतीय गोर्खा भूतपूर्व सैनिक कल्याण संगठन पचेङ शाखा सोनादाको २४औं स्थापना दिवस आज सम्पन्न भएको छ। अखिल भारतीय गोर्खा भूतपूर्व सैनिक कल्याण संगठन पचेङ शाखा सोनादाको सभापति एलबी राईको अध्यक्षतामा सम्पन्न उक्त स्थापना दिवस कार्यक्रममा यस क्षेत्रका विद्यार्थीहरू जसले यसपालीको माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा उच्च अंक ल्याएर उत्तीर्ण भएका थिए उनीहरूलाई सम्बर्ध्दना पनि जनाइएको छ। यस अवसरमा संगठनको पक्षबाट विद्यार्थीहरूलाई आर्थिक सहयोग पनि प्रदान गरिएको छ। ११ जून २००० सालमा स्थापना भएको अखिल भारतीय गोर्खा भूतपूर्व सैनिक संगठन पचेङ शाखाको आफ्नै नवनिर्मित भवनमा सम्पन्न स्थापना दिवस कार्यक्रममा विधित कार्यक्रमहरू आयोजना गरिएको जानकारी प्राप्त भएको छ। उक्त २४औं स्थापना दिवस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै अखिल भारतीय गोर्खा भूतपूर्व सैनिक संगठनको सभापति एलबी राईले सानो कोठाबाट शुरु गरिएको हाम्रो संगठन अहिले आएर आफ्नै नवनिर्मित भवनमा स्थापना दिवस पालन गर्न सकेका छौं भनी बताएका छन्। उनले यसपाली २४औं स्थापना दिवसको अवसरमा यो क्षेत्रका मेधावी विद्यार्थीहरूलाई सम्बर्ध्दना जनाइएको र विद्यार्थीहरूलाई पढाईमा सहयोग होस् भनेर संगठनको पक्षबाट आर्थिक सहयोग पनि प्रदान गरिएको बताएका छन्। उनले आगामी वर्ष संगठनको सिल्भर जुब्ली कार्यक्रम भव्य रूपमा पालन गरिने जानकारी पनि गराएका छन्। एलबी राईले यो संगठनले विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आईरहेको पनि जानकारी गराएका छन्।