च्याम्पियन्स लीगको खिताब जितेर ऐतिहासिक ट्रेबल पूरा गऱ्यो म्यानचेष्टर सिटीले

IMG-20230611-WA0147.jpg

११ जूनः पूरा सीजनमा असाधारण फर्ममा रहने म्यानचेष्टर सिटीले आशानुरुप प्रदर्शन गर्दै प्रतिष्ठित च्याम्पियन्स लीगको खिताब जित्यो। शनिवार अबेर राति तुर्कीको राजधानी इस्तानबुलमा खेलिएको फाइनलमा म्यानचेष्टर सिटीले इटलीको क्लब इण्टर मिलानलाई १-०-ले पराजित गरी पहिलोपल्ट च्याम्पियन्स लीगको खिताब हासिल गऱ्यो। यस जीतको साथ सिटीले ऐतिहासिक ट्रेबल पनि पूरा गऱ्यो। च्याम्पियन्स लीग अघि सिटीले यस सीजनमा ईंग्लिश प्रीमियर लीग (ईपीएल) र म्यानचेष्टर युनाइटेडलाई पराजित गरी एफए कपको खिताब पनि जितेको थियो। म्यानचेष्टर सिटी ट्रेबल पूरा गर्ने ईंग्ल्याण्डको दोस्रो क्लब हो। म्यानचेष्टर युनाइटेड ट्रेबल जित्ने ईंग्ल्याण्डको पहिलो क्लब थियो। युनाइटेडले १९९८-९९ सीजनमा तीनवटा ट्रफी जितेको थियो। इस्तानबुलको अतातुर्क ओलम्पिक स्टेडियममा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर सिटीबाट म्याचको एकमात्र गोल रोड्रीले ६८औं मिनटमा दर्ता गरे।

म्याचको पहिलो हाफमा निर्भरयोग्य मीडफिल्डर केविन डी ब्रूइन चोटको शिकार बने पनि सिटीले म्याच जित्यो। यसको साथै टीमले यूरोपेली फूटबलको शिखरमा पुग्ने आफ्नो महत्त्वकांक्षालाई हासिल गऱ्यो। यूरोपेली क्लब फूटबलको सबैभन्दा ठूलो प्रतियोगितामा यो सिटीको पहिलो ट्रफी भए पनि प्रशिक्षकको रूपमा पेप ग्वार्डियोलाले चाहिँ आफ्नो तेस्रो च्याम्पियन्स लीग ट्रफी जिते।

म्यानचेष्टर सिटीले ईंग्लिश फूटबलमा एकाधिक खिताब जिते पनि च्याम्पियन्स लीगको ट्रफी चाहिँ जित्न सकेको थिएन। यसपाली चाहिँ असाधारण प्रदर्शनको साथ टीमले आफ्नो सपना साकार गऱ्यो। सिटीले यसअघि २०२१-को फाइनलमा हारको सामना गर्नु परेको थियो। त्यस समय सिटीलाई फाइनलमा चेल्सीले पराजित गरेको थियो। सिटीको विपरीत इण्टर मिलानको चाहिँ १३ सालदेखि जारी च्याम्पियन्स लीग खिताब जित्ने सपना यसपाली पनि पूरा हुन सकेन। इटलीको क्लबले अन्तिमपल्ट २०१०-मा बायर्न म्यूनिखलाई पराजित गरी च्याम्पियन्स लीगको खिताब जितेको थियो। इस्तानबुलमा जित्न नसके पनि इण्टर मिलानको निम्ति यो सीजन यादगार रह्यो अनि टीमले घरेलु फूटबलमा दुईवटा ट्रफी जित्यो। यसमा कोप्पा इटालिया र सुपर कोप्पा इटालियन कप सामेल छ। यसरी टीम सेरि ए-मा तेस्रो स्थानमा रह्यो। इण्टर मिलानले तीनपल्ट च्याम्पियन्स लीगको खिताब जितिसकेको छ। टीमले पहिलोपल्ट १९६४-मा च्याम्पियन्स ट्रफी जितेको थियो। त्यसपछि १९६५ र २०१०-मा पनि टीम च्याम्पियन रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement