गान्तोक: सिक्किम सरकारका आईपीआर, पर्यटन एवं नागरिक उड्डयन, वाणिज्य र उद्योग र मुद्रण र स्टेशनरी मन्त्री बीएस पन्तले आज गुवाहाटीमा ‘डीडी संवाद’ नामक दूरदर्शन न्यूज कन्क्लेभको अन्तर्वार्तामा भाग लिए। ‘पुनरुत्थान उत्तर पूर्व’ भन्ने नाराका साथ उक्त एकदिने सम्मेलन आयोजना गरिएको थियो। मन्त्री पन्तले ‘सिकिम मार्चिङ अहेड’ शीर्षकमा आफ्नो वार्ता पेश गरेका थिए। उनले आफ्नो वार्तामा मुख्यमन्त्री पीएस तामाङको जीवन्त नेतृत्वमा सिक्किम सरकारले गरेका विभिन्न विकासमुखी पहलमाथि प्रकाश पारेका थिए।
आफ्नो सम्बोधनको क्रममा मन्त्री पन्तले समग्र विकासको सन्दर्भमा सिक्किमको सफलताका कुराहरूमाथि प्रकाश पारे। उसको साथै आगामी दिनमा देखिएका विभिन्न चुनौति र सम्भावनाका बारेमा पनि जानकारी दिए। मन्त्रीले अन्य विषयहरू जस्तै शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको क्षेत्रमा सिक्किम सरकारले गरेका जनहितकारी पहलहरूको बारेमा पनि कुरा राखेका थिए।
सम्मेलनमा विभिन्न राज्यका मुख्यमन्त्री र मन्त्रीहरू, केन्द्रीय क्याबिनेट मन्त्रीहरू, वरिष्ठ नौकरशाहहरू, प्रहरी/सुरक्षा बलका वरिष्ठ अधिकारीहरू, प्रतिष्ठित उद्योगपतिहरू र पत्रकारहरूले विभिन्न विषयहरूमा बोल्नका लागि भाग लिएका छन्।