गान्तोक: पश्चिम सिक्किमको भ्रमणको क्रममा आज मुख्यमन्त्री प्रेम सिंह तामाङ रिञ्चेनपोङ पुगेका छन्। गत ७ जूनदेखि शुरू मुख्यमन्त्री तामाङले पश्चिम जिल्लाको भ्रमण शुरू गरेका हुन्। तीन दिनसम्म उनले देन्ताम मानेबुङ निर्वाचन क्षेत्रका जनतासँग भेट गरेर जनताको समस्या र गुनासो सुनेका थिए। यसै क्रममा आज मुख्यमन्त्रीले रिञ्चेनपोङमा ९ जना लाभार्थीहरूलाई ल्याण्ड व्याङ्क स्किम अन्तर्गत जमीनको पर्चा वितरण गरे। विशेष गरेर सिक्किम सुकुम्बासी (जमीनविहिन) योजना २०११ अन्तर्गत गरीबी रेखामुनिका ९ जनालाई घर बनाउनको निम्ति जमीनको पर्चा प्रदान गरेका हुन्। उनीहरूलाई प्रत्येकलाई ०.२५ एकस जमीन प्रदान गरिने भएको छ।
रिञ्चेनपोङ निर्वाचन क्षेत्र भ्रमणको पहिलो दिन उनले बडा साम्दुङ ग्राम पञ्चायत यूनिट, बुमे रेशी र साङ दोर्जी जीपीयूका जनतासँग भेट गर्दै उनीहरूको गुनासो साथै समस्या सुने।