काठमाडौं: नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराध गरेको भन्दै दायर रिट निवेदन दर्ता गर्ने आदेश सर्वोच्च अदालतले दिएको छ। आज शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको पीठले रिट दर्ता गर्न आदेश दिएको हो। प्रचण्ड र बाबुरामविरुद्ध माओवादीका तत्कालीन लडाकु लेनिन बिष्टले आफूलाई बालसेनाका रुपमा प्रयोग गरी युद्ध अपराध गरेको भन्दै अदालतमा रिट हालेका थिए। तर, अदालतले रिट दरपीठ गरेको थियो। बिष्टले बालसैनिक भएकै आधारमा लडाकु शिविरबाट अयोग्य घोषित गरी निकालिएको रिटमा उल्लेख गरेका छन्।
लेनिन बिष्ट बर्हिगमित जनमुक्ति सेना, नेपालका अध्यक्ष थिए। बिष्टले सशस्त्र द्वन्द्वकालमा माओवादीले २००२ मा आफूलाई सैन्य भर्ती गर्दा १३ वर्ष मात्र भएको उल्लेख गरेका छन्। संयुक्त राष्ट्र संघीय नेपालस्थित मिसनको भेरिफिकेशनले २९७३ जनालाई बाल सैन्यको रुपमा सूचीकृत गरेको थियो। माओवादीले ठूलो संख्यामा बाल सैनिक प्रयोग गरेको रिटमा भनिएको छ। यतिसम्मकी माओवादी सशस्त्र गतिविधि शुरु भएपछि मारिएका पहिलो व्यक्ति दिलबहादुर रम्तेल पनि बालक नै रहेको बिष्टले उल्लेख गरेका छन्। नेपालमा २००६ मा माओवादी सशस्त्र गतिविधि अन्त भएको थियो। शान्ति प्रक्रियाका दौरान माओवादी लडाकुको समायोजन हुँदा अनमिनले बालसैनिकलाई अयोग्य घोषित गरेको थियो। जसका कारण बालसैनिकको प्रयोगको विषय उठ्दै आएको छ। -हिस