दार्जिलिङ: आज दार्जिलिङ जिल्ला प्रशासनले पहाड़का सबै राजनैतिक पार्टीहरूलाई लिएर सभा गरेको छ। सबै राजनैतिक पार्टीहरूलाई बोलाएर आगामी पञ्चायत चुनाव विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। जिल्ला प्रशासनद्वारा बोलाइएको सभामा पहाड़मा रहेको अधिकत्तम राजनैतिक पार्टीहरू उपस्थित रहेका थिए। सबै राजनैतिक पार्टीहरूलाई बोलाएर सभा गरेपछि पत्रकार सम्मेलन बोलाएर दार्जिलिङ जिल्ला शासक एस पुनमबालमले सम्पूर्ण जानकारी गराएका छन्। उनले आगामी ८ जुलाईको दिन पहाड़मा हुने दुई स्तरीय पञ्चायत विषयमा सम्पूर्ण जानकारी पत्रकारहरूलाई गराएका छन्। जिल्ला शासक एस पुनमबालमले यसपाली जीटीए क्षेत्रमा दुई स्तरीय पञ्चायत चुनाव हुने र दार्जिलिङ जिल्लामा 70 वटा ग्राम पञ्चायतहरूमा जम्मा ५९८ वटा पञ्चायत सिटहरूका लागि पञ्चायत चुनाव हुने र यसको लागि ५१४ वटा पुलिङ बुथहरूमा चुनाव हुने जानकारी गराएका छन्। उनले बताए अनुसार १ जनवरी २०२३ को गणना अनुसार यसपाली दार्जिलिङ जिल्लामा जम्मा तीन लाख सतासी हजार नौ सय बाउनजना मतदाताहरू रहेका छन्। उनले यसपालीको पञ्चायत चुनावमा ईभीएम मशीनको बदलामा ब्यालेट पेपर प्रयोग गरिने जानकारी गराएका छन्। पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूको उत्तर दिन्दै जिल्ला शासक एस पुनमबालमले भने, आगामी ८ जुलाईको दिन सम्पन्न हुने पञ्चायत चुनावको लागि हिज ८ दिनदेखि नै चुनाव आचार संहिता लागु भएको छ। चुनावको लागि क्याम्पेन गर्नलाई बिहान ७ बजेदेखि ५ बजेसम्म राखिएको छ भने राती १० बजेदेखि बिहान ८ बजेसम्मको समयमा कुनै रैली गर्न नपाउने अनि एकजना उम्मेद्वारले केवल एउटै ठाउँबाट मात्र चुनाव लड्न पाउनेछ भने चुनाव हुने ४८ घण्टाको समय साईलेन्ट समय रहने भएको छ।’
उनले अघि भने, आगामी पञ्चायत चुनावको लागि आजदेखि नै नोमिनेशन भर्ने समय दिइएको छ भने यसको लागि आईतबार छोड़ेर आगामी १५ जूनसम्म नोमिनेशन भर्न पाउनेछ भने यसको लागि समय रहनेछ बिहान ११ बजेदेखि ३ बजेसम्म।