९ जूनः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा जर्जियन फूटबल क्लबले फाइनलमा स्थान बनायो । स्थानीय मेला ग्राउण्डमा शुक्रवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा जर्जियन एफसी-ले खिताब जित्ने प्रबल दावेदार युनाइटेड ब्रदर्सलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल कुञ्जमान थापाले २२औं मिनटमा पेनल्टीबाट गरे। म्याचको दुवै हाफमा असाधारण प्रदर्शन गरे पनि भाग्यले साथ नदिँदा युनाइटेड ब्रदर्सले गोल हासिल गर्न सकेन। जर्जियन एफसी-का लाक्पा डी. मोक्तानलाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने फाइनलमा जर्जियन फूटबल क्लबले कालेबुङ जिल्ला पुलिसको चुनौती स्वीकार्नेछ। कालेबुङ पुलिसले यसअघि खेलिएको पहिलो सेमिफाइनलमा हिमालश्री एथलेटिक क्लबलाई १-०-ले पराजित गरेको थियो।