गान्तोक: देन्तामको अप्पर माङ्मुमा पर्यटन विभागद्वारा प्रस्तावित परियोजना गुरु पद्मसम्भव बौद्ध अध्ययन एवं ध्यान केन्द्रको जमिनलाई मुख्यमन्त्री पीएस गोलेले आज स्थलगत निरीक्षण भ्रमण गरे। उक्त परियोजनाको निम्ति सरकारले पहिलो चरणमा ६.६७ एकर जमिन अधिग्रहण गरिसकेको छ भने अहिले थप जमिन अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ। सञ्चार कर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्रीले तामाङले लगभग १२ एकर जमिनमा यो परियोजनालाई पूरा गर्ने सरकारले लक्ष्य लिएको जानकारी गराए।
स्मरण रहोस्, रिञ्चेनपोङ मेगीडाँडाको रिन्चेन छ्योलिङ गुम्बाका टुल्कु साङ्गे योङतेन ग्याछ्यो रिम्पोछेको नेतृत्वमा एउटा शीर्ष टोलीले मुख्यमन्त्री पीएस गोलेलाई भेट गरि माङ्मुमा गजेन्द्र गुरुङले भूमिदान गरेको डेढ एकर जमिनमा गुम्बा निर्माण गरिदिने अनुरोध गरेका थिए। तर मुख्यमन्त्रीले उक्त ठाउँमा भव्य गुरुपद्मा सम्भव बौद्ध अनुसन्धान एवं ध्यान केन्द्र निर्माण गरिदिने वचन दिएपछि लगभग १२ एकर जमिनमा उक्त परियोजना निर्माण हुनलागेको हो। अब परियोजना ७० करोड रुपियाँको लागतमा निर्माण हुने भएको छ। मुख्यमन्त्री मानेबुङ देन्ताम समष्टिमा जनता भेट कार्यक्रममा आएको समय मुख्यमन्त्रीले जमिनको स्थलगत निरीक्षण भ्रमण गरेको हो। मुख्यमन्त्रीले यस परियोजनालाई सफलीभुत गर्न गुरुपद्मा सम्भव बौद्ध अनुसन्धान एवं ध्यान केन्द्र निर्माण समिति गठन गर्नुपर्ने सुझाव राखे। यसरी पर्यटन विभागका सचिव प्रकाश छेत्रीलाई उक्त परियोजनाको लागि मात्रै पर्यटन विभागको एकजना सहायक अभियान्ता र दुईजना जेई नियुक्ति गर्नुपर्ने निर्देश दिए।
निरीक्षणको क्रममा मुख्यमन्त्रीसँग मन्त्री भीमहाङ सुब्बा, मन्त्री एमएन शेर्पा, मन्त्री संजित खरेल, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, पूर्व मन्त्री जीएम गुरुङ लगायत एसकेएम पार्टीका शीर्ष नेतृत्वहरु सामेल रहेका थिए।










