क्रिकेटः बेयरस्टोको रेकर्ड शतकले ईंग्ल्याण्ड असल स्थितिमा

२५ जूनः न्यूजील्याण्ड विरुद्ध तेस्रो क्रिकेट टेस्ट म्याचमा केवल ५५ रनमा ६ विकेट गुमाएर चेपारोमा पर्ने आयोजक ईंग्ल्याण्डको टीमलाई फेरि एकपल्ट जनी बेयरस्टोको सहारा प्राप्त भयो। न्यूजील्याण्डका बलरहरूलाई मैदानको चारै कुनामा पठाउँदै आक्रामक ब्याटिंग गर्ने बेयरस्टोले टीमलाई १०० रनभित्र अलआउट हुनदेखि बचाउनको साथै शतकको साथ एउटा ठूलो रेकर्ड पनि बनाए। ईंग्ल्याण्डको निम्ति ८६औं टेस्ट म्याच खेलिरहेका बेयरस्टोले आफ्नो ५ हजार टेस्ट रन पूरा गरे। यस उपलब्धिलाई हासिल गर्ने उनी ईंग्ल्याण्डका २४औं क्रिकेटर हुन्। यसबाहेक २०१२-देखि यता आँकड़ा हेर्नु हो भने बेयरस्टो ईंग्ल्याण्डको निम्ति टेस्ट क्रिकेटमा ५ हजारभन्दा अधिक रन बनाउने केवल चौथो ब्याटर हुन्। यस अवधि ईंग्ल्याण्डको निम्ति एलिस्टेयर कुक, जो रुट र बेन स्टोक्सले मात्र ५ हजारभन्दा अधिक रन बनाउन सके जबकि ईंग्ल्याण्डको प्रथम एकादशमा स्थान बनाउन नसक्दा धेरै स्टार क्रिकेटरहरू यस सूचीमा सामेल हुन सकेनन्।

न्यूजील्याण्डको पहिलो ईनिंग्स ३२९ रनमा समाप्त भएपछि आफ्नो पहिलो ईनिंग्स शुरु गर्ने ईंग्ल्याण्ड एक समय चेपारोमा परेको थियो। स्कोरबोर्डमा ५५ रन आउँदासम्म त ६ जना ब्याटर पभेलियन पुगिसकेका थिए। यसमा एलेक्स लीस (४), ज्याक क्राउले (६), ओली पोप (५), जो रुट (५), विकेटकीपर बेन फोक्स (०) र कप्तान बेन स्टोक्स (१८) सामेल छन्। कीवि पेस बलर ट्रेण्ट बोल्ट (३ विकेट)-को घातक बलिंगले समस्यामा पर्ने ईंग्ल्याण्डलाई बचाउने जिम्मेवारी लिएर बेयरस्टोले दबाउबाट मुक्त हुन शुरुदेखि नै आक्रामक मिजासमा ब्याटिंग गरे। यस कार्यमा उनले जेमी ओभरटनबाट असल साथ पाए। दिनको खेल समाप्त हुँदासम्म बेयरस्टो १२६ बलमा २१ वटा चौकाको सहायताले १३० र ओभरटन १०६ बलमा १२ वटा चौका र २ वटा छक्काको सहायताले ८९ रन बनाएर खेलिरहेका थिए। यी दुईले सातौं विकेटको निम्ति केवल २२३ बलमा २०९ रनको अटूट साझेदारी गरी ईंग्ल्याण्डलाई असल स्थितिमा पुऱ्याए। बेयरस्टोले केवल ९५ बलमा शतक पूरा गरे। यो उनको न्यूजील्याण्ड विरुद्ध लगातार दोस्रो अनि टेस्ट करियरको दशौं शतक हो। यतिमात्र नभएर यो ईंग्ल्याण्डको निम्ति सातौं सबैभन्दा तेज टेस्ट शतक पनि हो। ईंग्ल्याण्ड अहिले तीनवटा टेस्ट म्याचको सीरीजले २-०-को अजेय बढ़त सहित अघि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement