गान्तोकः विद्या भारती सिक्किमद्वारा पूर्व सिक्किमको सामदोङमा सञ्चालित सरस्वती विद्या निकेतनमा गत २ देखि ४ जूनसम्म तीन दिवसीय संगीत कार्यशालाको आयोजना गरियो। कार्यशालाको समापन कार्यक्रममा गान्तोक जिल्लाका जिल्ला पञ्चायत बलराम अधिकारी मुख्य अतिथि तथा अवकासप्राप्त शिक्षक केएन खतिवडा र विद्या भारती सिक्किमका महासचिव विजय कुमार शर्मा विशिष्ट अतिथि थिए। विद्या भारतीका पॉंच आधारभूत शिक्षा ( योग, शारीरिक, संगीत, नैतिक आध्यात्मिक एवं संस्कृत) अन्तर्गत संगीत शिक्षाको कार्यशाला आयोजन गरिएको थियो। कार्यशालामा विद्या भारती सिक्किमद्वारा विभिन्न जिल्लाहरूमा सञ्चालित विद्यालयका आचार्य-आचार्याहरू सहभागी बनेका थिए।
कार्यशालामा विद्या भारतीको संगीत शिक्षा आधारित बन्दना, प्रार्थना, शिशु वाटिका अभ्यास, स्थानीय गीत, नृत्य, विद्या भारतीमा संगीतको आवश्यकता र उपयोगिता, बाल गीत संकलन, विद्यालयमा संगीतमय वातावरण तथा संगीतमय शिक्षण पद्धति जस्ता विषयहरूमाथि प्रशिक्षण एवं जानकारी प्रदान गरिएको थियो। विद्या भारती पूर्व क्षेत्रका संगीत संयोजक एवं संगीत भूषण उपाधि प्राप्त ओडिशाका पी. मोहन राव पात्रले प्रशिक्षण प्रदान गरे।
कार्यक्रममा विद्यालय प्रबन्धन समितिद्वारा पी. मोहन राव पात्र र चिन्नम मांगमा, सरस्वती विद्या निकेतन, रानीपुलकी आचार्या बिमला सुब्बालाई सम्मानित गरियो। यस अवसरमा विद्या भारती सिक्किमका संयोजक मोहन शर्मा, विद्यालय संचालन समितिका अध्यक्ष त्रिलोचन भट्टराई, सचिव कमल भट्टराई, पूर्व अध्यक्ष/मार्गदर्शक दूर्गा अधिकारीको विशेष उपस्थित रहेको जानकारी विद्या भारती सिक्किमका प्रान्त प्रचार प्रमुख सूर्य धितालले दिएका छन्।
-हिस