गान्तोकः सिक्किम सरकारले एक परिवार एक नोकरी योजना अन्तर्गत विभिन्न विभागमा नोकरी गरिरहेका सरकारी कर्मचारीहरूलाई बिना पूर्व सूचना र विनाकारण नोकरीबाट निष्काशन गरेको सिटिजन एक्सन पार्टी (सीएपी) ले आरोप लगाएको छ। सीएपीले सरकारको उक्त निर्णयलाई दूर्भाग्यपूर्ण बताउॅंदै घोर भर्त्सना र निन्दा गरेको छ।
एक परिवार एक नोकरी अन्तर्गत नोकरी गरिरहेका तीनजना सरकारी कर्मचारीलाई विनाकारण राज्य सरकारले नोकरीबाट वर्खास्तगरेको सीएपीले आज जारी प्रेस विज्ञप्तिमा बताएको छ। विज्ञप्तिमा अझ भनिएको छ, सिटिजन एक्सन पार्टी-सिक्किमको एक शिष्ट मण्डली पार्टीका प्रमुख समन्वयक गणेश राईको अगुवाईमा राज्यको डीओपी सचिवको कार्यालयमा ५ जून २०२३ को दिन पुग्यो। डीओपी सचिव कार्यालयमा अनुपस्थित रहेको कारण शिष्ट मण्डलीले दश दिनको अल्टिमेटम दिँदै आफ्नो यादास्त पत्र अतिरिक्त सचिवलाई दिएको छ।
दश दिन भित्रमा निष्काशित कर्मचारीहरूको नोकरी पुनर्वहाली गर्न उक्त पत्रमा माग गरिएको छ। यदि दश दिन भित्रमा सरकारले नोकरी पुनर्वहाली नगरे सिटिजन एक्सन पार्टी-सिक्किम निष्काशित कर्मचारीको पक्षमा सड़कदेखि सदन र न्यायालयसम्म जाने कुरा स्पष्ट जनाइएको छ। सीएपीले निष्काशित कर्मचारीहरूको सरकारले जबरजस्ती खोसेको नोकरी यथाशीघ्र फर्काउनुपर्छ भनी माग गरेको छ।
-हिस