गान्तोक: आगामी ४ जुलाईको दिन आदि पत्रकार पाद्री गङ्गा प्रसाद प्रधानको १७२औँ जयन्तीलाई राज्य स्तरीय रूपमा पालन गरिने भएको छ।
पाद्री गङ्गा प्रसाद स्मृति प्रतिष्ठान र संयुक्त ईसाई मण्डलीहरूको संयुक्त तत्त्वावधानमा पूर्व सिक्किमको माझीटारस्थित जाशुवा अडिटोरियममा आयोजन गरिने समारोहमा सामाजिक चिन्तक एवम् नाट्यभूषण सीके श्रेष्ठ मुख्य अतिथि रहनेछन्। यस महत्त्वपूर्ण कार्यक्रममा पाद्री गङ्गाप्रसादको योगदानमाथि वार्ता प्रस्तुत गर्न स्रोत वक्ताका रूपमा वरिष्ठ साहित्यकार छत्र पावल सुब्बालाई आमन्त्रण गरिएको छ। गत बुधवार गान्तोकमा बसेको प्रतिष्ठानको कार्यकारी समितिका सदस्यवर्ग एवम् संयुक्त ईसाई मण्डलीका प्रतिनिधिका रूपमा रहेका विभिन्न मण्डलीका पास्टरहरूको संयुक्त बैठकले ४ जुलाई २०२३-का दिन भव्य एवम् सभ्य ढङ्गमा आदि पत्रकार जयन्ती पालन गर्ने निर्णय लिएको हो। बैठकमा प्रतिष्ठानको कार्यकारी समितिको पदमा केही फेरबदल पनि गरियो। प्रतिष्ठानको अध्यक्षको पदमा डा. पीएम प्रधानले पदभार सम्हाल्दै आएका थिए भने उनी सक्रिय राजनीतिमा प्रवेश गर्ने भएपछि प्रतिष्ठानको अध्यक्षको पदमा उक्त बैठकको सर्वसम्मतिले कमल चामलिङ कामराङ्गेलाई चयन गरेको थियो। अबउसो कमल चामलिङले प्रतिष्ठानको नेतृत्त्व गर्नेछन्। वास्तुकार एवम् कलाकार किरण रसाइलीले प्रमुख सल्लाहकारको भूमिका निर्वाह गर्नेछन् भने साहित्यकार पेम्पा तामाङ सल्लाहकारका रूपमा रहनेछन्।
आदि पत्रकार जयन्तीमा प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुऱ्याउँदै आएका व्यक्ति एवम् संस्थानलाई पाद्री गङ्गाप्रसाद स्मृति सम्मानले विभूषित गर्ने निर्णय लिएको छ।