कालचिनीः तृणमूलको मेल बन्धन कार्यक्रम एवम् जनसम्पर्क अभियान मङ्गलबार कालचिनी खण्डको तीनवटा अञ्चलमा सम्पन्न भयो। मेन्दाबारी, लोथाबारी र चुवापाड़ा अञ्चलमा सम्पन्न सो कार्यक्रममा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत तृणमूल छात्रा परिषदका सभापति हैदर अली अन्सारी एवम् तीवैवटा अञ्चलका सभापति अनि कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
यस कार्यक्रम अन्तर्गत जनताको घर दैलोमा पुगेर जनताको समस्या र गुनासो सुन्ने क्रममा मेन्दाबारी, साताली र चुवापाड़ा अञ्चलका मेचपाड़ामा पथसभा साथै गाउँ परिक्रमा गरिएको थियो। मूलतः जनसम्पर्क अभियान अन्तर्गत मेल बन्धन कार्यक्रमको शुरुवात गत २५ मईको दिनदेखि भएको थियो भने हाल कालचिनी ब्लकको अञ्चलहरूमा प्रत्येक गाउँ घरमा पुगेर राज्य सरकारको विकासमूलक कामहरूको जानकारी र जन गुनासो सुन्ने कार्यक्रम चलिरहेको तृणमूल छात्रा परिषदका कालचिनी ब्लक सभापति हैदर अली अन्सारीले थप जनाएका छन्।