६ जूनः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा ग्रुप बी-को अन्तिम म्याचमा जीत हासिल गरी हिमालश्री एथलेटिक क्लबले सेमिफाइनलमा स्थान बनायो । स्थानीय मेला ग्राउण्डमा मंगलवार खेलिएको दोस्रो म्याचमा हिमालश्री एथलेटिक क्लबले नादोङ भूटिया फूटबल एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट हर्क बी भुजेलले १६औं, रुलेन लेप्चाले ३०औं र डेण्डुप भूटियाले ७२औं मिनटमा गोल गरे। डेण्डुप भूटियालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन्स एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।