खरसाङ: भारतीय गोर्खा परिसंघ, खरसाङ क्षेत्रीय समितिद्वारा खरसाङको रेलवे एम्प्लोइज् युनियन कार्यालय भवनमा एउटा शोक सभाको आयोजना गरिएको थियो।
गत २५ मई २०२३ को दिन दिवंगत हुनुभएको गुरुमा स्व शान्ति प्रधानको आत्मा शान्ति साथै उनको आत्माले स्वर्गमा बास पाउन् भनी साथै उहाँका सत्कर्म, अध्यात्मवाद, शिक्षा, संस्कृति, अनुशासन, सुसंस्कृत समाज बनाउने सोच, कर्महरूलाई सम्झना गर्दै दुई मिनटको मौन धारण गरियो। भागोप खरसाङका अध्यक्ष सहदेव चाम्लिङको अध्यक्षतामा उक्त शोक सभा सम्पन्न भयो। गुरुमाको तस्वीरमा पुष्पमाला, धूप दीप साथै उहाँको मनपर्ने पुष्प रजनीगन्धा चढाएर तीनपल्ट ऊँकारको उच्चारण साथै वरिष्ठ सल्लाहकार पण्डित तुलसी प्रसाद अधिकारीले मन्त्रोच्चारण गरेपश्चात सभाको सुरुवात गरिएको थियो। धेरै सदस्य-सदस्याहरू उपस्थित भएता पनि पण्डित तुलसीप्रसाद अधिकारी, तिलक शर्मा, आईएन शर्मा, लक्ष्मण शर्मा, सहदेव चाम्लिङ, सरोजिनी देवान, देविका मंग्राती राई, आशा चाम्लिङ, एसके छेत्री आदिले गुरुमाप्रति सम्झना गर्दै आ-आफ्ना कुराहरू राख्ने क्रममा पण्डित अधिकारीले गुरुमालाई दिव्य शक्ति. ज्ञान भएका विदुषी, शिक्षाविद्, कर्तव्यपरायण एक साँचो नारी थिइन् भनी बताएका छन्। समाजसेवी तिलक शर्माले भने – उहाँ भारतीय गोर्खा परिसंघका सच्चा सदस्य, भागोपमा धेरै काम गरेका खरसाङका गौरव थिइन्। उनलाई गेरुवा रङको फूल साह्रै मनपर्थ्यो। मेरो नर्सरीमा आइरहनुहुन्थ्यो र गेरुवा रङको बेगुनिया मैले उनलाई उपहार स्वरूप दिएको थिएँ भन्दै लक्ष्मण शर्माले सम्झना गरेका थिए। आईएन शर्माले उहाँको परिवारहरूबारे जनाएका थिए। त्यसरी नै सरोजिनी देवानले गुरुमाको छात्राको रुपमा रहेर के के सिकिन्, उहाँ कति निष्ठावान, विद्यार्थीहरूका साँचो पथप्रदर्शक थिइन् बताइन्। चौथो श्रेणीमा पढ्दा गुरुमाद्वारा रचित कविता वाचन गर्ने अवसर पाएकी कुरा सम्झना गरिन्। आशा चाम्लिङले गुरुमाले प्रथममा सहायता गरेकी साथै इतिहास विषय पढ़ाउने तरिका, स्मरण गर्ने, इतिहासका पुस्तकबाट आवश्यक कुराहरू कसरी निकालेर लेख्नु जस्ता उपायहरू सहज ढङ्गमा बुझाइदिन्थिन्। उनको विषयमा केही पनि फेल हुँदैनथे। उहाँको पढ़ाउने तरिका उत्कृष्ट थियो भन्ने कुरा साझा गरेका थिए। देविका मंग्राती राईले गुरुमासँगको सामीप्यता, कसरी प्रभावित भए, उहाँको वक्तव्यहरू कत्तिको प्रभावशाली हुन्थ्यो, सबै स्मरण गर्दै साथै गुरुमाकी छात्रा नभए पनि श्रद्धाभाव, माया, प्रेम गहिरो छ भनिन्। उहाँकी प्रिय छात्रा मीरा गजमेर अरोड़ाले गुरुमालाई श्रद्धाञ्जली दिन्दै रचेकी कविता (हिमालय दर्पणमा प्रकाशित) देविका मंग्राती राईले वाचन गरिन्। अध्यक्ष सहदेव चाम्लिङले उहाँलाई सम्झना गर्दै भने कि मैले गोर्खा सांस्कृतिक संस्थान खरसाङमा नजिकबाट चिन्न सकेँ गुरुमालाई। खुबै प्रभावित थिएँ उहाँको ज्ञानसँग। मलाई एउटा गीत दिनुभएथ्यो संगीत भर्नलाई भनेर। त्यही गीत वाचन गरेर सुनाएका थिए। संगीत म अवश्यै भर्नेछु भने। एसके छेत्रीले गुरुमा सधैँ स्मरणमा रहनुहुनेछ, उहाँका सदभावना, सत्कर्मका सम्झना सधैँ भइरहनेछ बताए। दिवंगत शान्ति प्रधान, रामकृष्ण विद्यालयको संस्थापक शिक्षिका, भारतको राष्ट्रीय शिक्षा पुरस्कारले अलंकृत, अत्यन्त समर्पित शिक्षिका, साहित्य अनुरागी, साई भक्त, अनुशासित, उत्कृष्ट प्रधानअध्यापिका, पथप्रदर्शिका सबैका हृदयमा बस्नुहुने भाषा, साहित्य र संस्कृतिप्रेमी थिइन्। उनको देहावसानले खरसाङलाई ठुलो क्षति पुरयाएको छ। सबै मन्तव्य र स्मरण पश्चात खरसाङ भागोपकी सचिवा तारा छेत्रीले सभा सञ्चालनसँगै आफ्नो श्रद्धाभाव र श्रद्धाञ्जली प्रकट गरिन्। शोकसभा पश्चात उहाँको वासस्थानमा पनि गई फूल, माला अर्पण गरियो भनी जानकारी प्राप्त भएको छ।