६ जूनः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा ग्रुप ए-को अन्तिम म्याचमा कालेबुङ जिल्ला पुलिसले सजिलै जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा मंगलवार खेलिएको एकतर्फी म्याचमा कालेबुङ जिल्ला पुलिसले सुबोथ फूटबल एकाडमीलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अनिमेश गुरुङले ह्याट्रिक गरे। उनले म्याचको ६०औं, ७०औं र ८४औं मिनटमा गोल गरे। यसबाहेक अजय तामाङले ७६औं मिनटमा १ गोल गरे। अनिमेश गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन्स एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।