सोरेङ। सोरेङ जिल्ला प्रशासनिक केन्द्र परिसरमा आज विश्व पर्यावरण दिवस पालन गरियो। वन एवं पर्यावरण विभागको सहयोगमा जिल्ला प्रशासनिक केन्द्रद्वारा आयोजित कार्यक्रमको थिम प्लास्टिक प्रदूषण निर्मूल पार्नु रहेको थियो। कार्यक्रममा जिल्लापाल भीम ठटाल, अतिरिक्त जिल्लापाल गायस पेघा लगायत अन्यको उपस्थिति रहेको थियो।
पर्यावरणलाई थप हरियो बनाउने दिशामा पहल गर्दै कार्यक्रममा गुम्बा डाँड़ा परिसरमा चाँप, गुँरास, एर्जलिया अनि निल कमलको विरुवाहरू रोप्ने कार्य भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल ठटालले विरुवा रोप्नुको महत्वबारे जोर दिँदै प्रभावकारी पर्यावरण संरक्षण पहलको निम्ति अन्तर विभागीय समन्वय हुन आवश्यक रहेको बताए। यस अतिरिक्त अन्य प्रजाति वा जीवन र सम्पत्तिलाई जोखिम नहोस् भनेर सड़क एवं पूल विभागलाई वन विभागको परामर्श गरी घाँस अनि रूखहरू हटाउन निर्देश दिए।
यसअघि जिल्लापाल ठटालले सिङलिङ सरकारी जुनियर हाई स्कूलको भ्रमण गरे। सोरेङका जिल्ला अधिकारीहरूद्वारा विद्यालयलाई काख लिने कार्यक्रमअन्तर्गत जिल्लापाल ठटालले यस विद्यालयलाई निजी तौरमा काख लिए। यसै क्रममा पाकिम, नाम्ची, नामथाङ लगायत विभिन्न स्थापनमा विश्व पर्यावरण दिवस पालन गरियो।
प्लास्टिक प्रदूषण निर्मूल पार्ने थिममा आयोजित यसपालीको विश्व पर्यावरण दिवसको अवसरमा आज वन विभागको सहयोगमा कामराङ खिँचुडुम्रामा राज्यको मेरो रुख मेरो सन्तति योजना अनि केन्द्रको मिशन लाइफ योजनाहरूलाई बढ़ावा दिँदै व्यापक विरुवा रोपियो। यस अवसरमा नाम्ची जिल्लाका अध्यक्ष अञ्जिता राजालिम मुख्य अतिथिको रूपमा उपस्थित थिइन् भने एनसीसी बटालियनका कर्णल एनएस नेगी विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए। उनीहरूसँगै वन विभागका अधिकारीहरू लगायत अन्यको उपस्थिति रहेको थियो। यस अवसरमा प्रमुख अतिथिद्वारा ‘मेरो रुख मेरो सन्ताती’ पहल अन्तर्गत दर्ता भएको कामराङका नवजात शिशुका चार परिवारलाई सिक्किमका मुख्यमन्त्रीको तर्फबाट अम्बकको बिरुवा र प्रशंसा पत्र हस्तान्तरण गरियो।

अर्कोतिर, पाकिममा पनि आज विश्व पर्यावरण दिवसको अवसरमा प्रत्येक नयाँ शिशुको निम्ति 108 वटा विरुवा रोप्ने कार्य भयो। यस अवसरमा क्षेत्र विधायक एम प्रसाद शर्मा, रिनाकका विधायक विष्णुकुमार खतिवड़ा, जिल्ला उपाध्यक्ष प्रभा प्रधान, सल्लाहकारगण इञ्चुङ भोटिया, पीके सुब्बा, दुबो भोटिया, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव विशाल शर्मा, जिल्लापाल टाशी छोपेल भोटिया लगायत अन्यको उपस्थिति रहेको थियो। सोही प्रकारले नामथाङमा पनि विश्व पर्यावरण दिवस पालन गरियो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा जिल्ला पञ्चायत इन्द्र कुमारी छेत्री रहेकी थिइन्। कार्यक्रममा वागवाणी विभागकी विशेषज्ञ याङछिला भोटियाले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा स्मार्ट एग्रीकल्चर र त्यसमा रहेका अन्य गतिविधिहरूबारे आगामी दिनमा आधुनिक कृषिका निम्ति प्रयोग गरिने विभिन्न विषय प्रस्तुत गरेका थिए।