गान्तोक: सिक्किम विश्वविद्यालयको कावेरी प्रेक्षागृहमा .डा देवचन्द्र सुब्बाद्वारा लिखित ‘सुवास दीपक : निस्सङ्ग यात्रु’ पुस्तकको लोकार्पण भयो। यस पुस्तकमा सुवास दीपक सिक्किम आएपछि उनले सिक्किममा बिताएका जीवन र उनको जीवन कर्मबारे लेखिएको पुस्तक हो। यसलाई जीवन नै भनेर लेखिएको छ। आरएन बरालद्वारा प्रकाशित यस पुस्तकमा सुवास दीपकको जीवन यात्रा, पत्रकारिताको जीवन, अनुवादकको जीवन, उपन्यासकार एवम् कवि कथाकार व्यक्तित्वको वर्णन गरिएको छ।
सिक्किम विश्वविद्यालय नेपाली विभागका विभाग प्रमुख प्रोफेसर कविता लामाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा पद्मश्री सानु लामा, लोक साहित्यविद् केएन शर्मा, सामालोचक पेम्पा तामाङ, सिक्किम अकादमीका अध्यक्ष एसआर खजुम लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
डा. सुब्बाद्वारा लिखित यस पुस्तकका बारेमा प्रोफेसर कविता लामाले आफ्नो पाठकीय विचार राख्दै नेपाली साहित्यमा जीवन लेखनको आवश्यकता एवम् महत्त्वबारे प्रकाश पारेकी थिइन्। सुवास दीपकको जीवन कति सङ्घर्षमय थिएछ र उनले भारतीय नेपाली साहित्यलाई अन्य भाषिक समाजमा पुऱ्याउन के कस्ता योगदान दिएका रहेछन् भन्ने कुरा हामी यस पुस्तकबाट जान्न पाउँछौँ अनि उनको पत्रकार जीवन पनि कति दुखमय र सङ्घर्षरत थिएछ भन्ने यस पुस्तकबाट थाह लागेको उनले उल्लेख गरिन्। भारतीय नेपाली साहित्य मौन साधक बनेर आफ्नो नित्य साहित्यिक कर्म गरिरहने यस्ता व्यक्तित्वहरूको जीवनबारे लेखिनु अत्यन्तै आवश्यक छ भन्ने कुराबारे प्रोफेसर लामाले जोड दिइन्। कार्यक्रममा लोक साहित्यविद् केएन शर्माले पनि सुवास दीपकसँगको सम्झना साझा गर्दै सुवास दीपक पत्रकार साहित्यकारसँगै उनी थुप्रै भाषाका ज्ञाता पनि रहेको जानकारी दिए। कार्यक्रममा प्रकाशकको पक्षमा बोल्दै आर एन शर्माले साहित्यमा लेखिनु पर्ने थुप्रै कुरा छन् तर गम्भीर भएर लेखिनु पर्छ अनि निरन्तर साहित्यिक काम गर्नेहरूको मूल्याङ्कन हुनु हुनुपर्ने कुरामा जोड दिए। सुवास दीपकको लेख आफूले सन् १९८० तिरको पत्रिकामा पढेको र उनले गरेका काममा सधैँ इमानदारी पाएको विचार व्यक्त गरे। कार्यक्रममा सिक्किम विश्वविद्यालयका दोस्रो सत्रका विद्यार्थीहरू सावित्री मगर, अर्चना लिम्बू, विन्द्या राई अनि रेबिका लिम्बूले मारुनी नृत्य प्रस्तुत गरेका थिए।