नरबहादुर भण्डारी डिग्री कलेजमा विश्व पर्यावरण दिवस पालन

cmp_910

गान्तोकः तादोङस्थित नर बहादुर भण्डारी डिग्री कलेजमा आज विश्व पर्यावरण दिवस साथै कलेज फेस्ट इन्स्पायर २०२३ भव्यरूपमा पालन गरियो। आजको यस कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि तथा उनकी धर्मपत्नी कृष्ण राई लगायत विशिष्ट अतिथिहरूमा वन विभाग मन्त्री कर्मा लोडे भोटिया, क्षेत्र विधायक जीटी ढुङ्गेल, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रम अन्तर्गत मुख्यमन्त्री साथै अन्यहरूले कलेज परिसरमा रहेको बोटानिकल गार्डनमा विभिन्न प्रजातिको विरूवा रोपे।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री तामाङले कलेजका प्राचार्य साथै एसआरसीद्वारा राखिएको प्रायः सबै जसो मागहरू पूरा गर्ने वचन दिए। सर्वप्रथम कलेजको अडिटोरियम नयाँ बनाउनको निम्ति सर्वेक्षण भइसकेको र १५ सय जना अटाउन सक्ने क्षमता भएको नयाँ अडिटोरियम एक वर्षभित्र निर्माण गर्ने उनले घोषणा गरे। सोही प्रकारले पहिलो वर्षका विद्यार्थीहरूलाई ल्यापटप वितरण गरिने पनि उनले थप घोषणा गरे। यसरी नै फाइनल इयरका छात्राहरूलाई शैक्षिक भ्रमणमा पठाउने पनि उनले जानकारी गराए। आगामी अगस्त महिनाभित्रमा परीक्षा सकेपछि शैक्षिक भ्रमणको निम्ति सरकारको खर्चमा पठाउने बताए। तर यसको निम्ति कलेज पक्षले सबै कुराको प्रबन्ध मिलाउनु पर्ने सुझाउ दिए।

विशेष गरेर विद्यार्थीहरूका अभिभावकहरूबाट यसको निम्ति अनुमति लिनु पर्ने र कुन ठाउँको भ्रमण गर्ने हो, त्यसको सम्पूर्ण विवरण कलेज पक्षले तयार गरेर बुझाउनु पर्ने मुख्यमन्त्रीले निर्देश दिए। कलेजको मरम्मत साथै स्टाफ क्वाटर र छात्रावास पूर्णरूपमा सञ्चालनको निम्ति विभागले पहल गर्नुपर्ने उनले निर्देश दिएका छन्। आज पालन गरिएको इन्स्पायर कार्यक्रम आगामी वर्षदेखि ५ जूनको दिन आयोजना गरिनु पर्ने उनले सुझाउ दिएका छन्। आज विश्व पर्यावरण दिवस भएको कारण सबैले विरूवा रोप्नु पर्ने र रोपेपछि त्यसको हेरचाह साथै संरक्षण गर्ने जिम्मेवारी सबैले लिनु पर्ने आग्रह गरे।

एसकेएम पार्टीको सरकार गठन भएपछि शिक्षाको क्षेत्रमा धेरै विकास भएको उनले दावी गरे। एसकेएम पार्टी सरकारमा आउनभन्दा अघि गेजिङ कलेजको अवस्था लथालिङ्ग रहेको तर एसकेएम पार्टीको सरकार गठन भएपछि उक्त कलेजको निर्माण कार्य युद्धस्तरमा सञ्चालन भइरहेको र सम्भवतः आगामी दिसम्बर महिनामा गेजिङ कलेजको उद्घाटन हुन सक्ने उनले सम्भावना व्यक्त गरे। आजको यस कार्यक्रममा गायन, नृत्य, कविता वाचन, कथा लेखन, भलिवल, फुटबल खेलमा सहभागीहरूलाई ट्रफी साथै नगद राशि प्रदान गरियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement