कालचिनी। दैलोमा सरकार शिविर कार्यक्रम अन्तर्गत आज दुर्गम बक्साद्वार पहाड़ लगायत प्रायः १८ वटा बनबस्ती क्षेत्रलाई लिएर राज्य सरकारको निर्देशमा दैलोमा सरकार शिविर अन्तर्गत कृषि बन्धु र किसान क्रेडिट कार्ड प्रदान शिविर सम्पन्न भएको जानकारी कालचिनीका सहकृषि अधिकारी प्रबोदकुमार मण्डलले दिएका छन।

आज उक्त अवसरमा सुन्तलाबारी फरेस्ट राइट्स कमिटीको सभापति अरुण कुमार राईले जम्मै बनबस्ती क्षेत्रका बासिन्दाहरुलाई सम्पर्क गरेर सुन्तलाबारी बोलाएको थियो भने उक्त शिविरमा आज प्रायः ८० जना भन्दा अधिक बनबस्ती बासिन्दाहरुलाई कृषि बन्धु र किसान क्रेडिट कार्डको सुविधा उपलब्ध गराउन सक्षम भएको सहकृषि अधिकारी प्रबोद कुमारमण्डलले जनाएका छन।
आजको शिविरमा विगत दिनहरुमा सम्पन्न दैलोमा सरकार शिविरको भन्दा बड़ी संख्यामा मानिसहरूको घुँईचो लागेको थियो भने सबैलाई नै आज विशेषगरी कृषि बन्धु र किसान क्रेडिट कार्डको सुविधा उपलब्ध गराईएको थियो। कार्यक्रममा उपस्थित कृषि विभाग आत्मा प्रकल्पको चेयरम्यान अधीर राय लगायत कलकत्ताबाट कृषि विभागको अतिरिक्त कृषि अधिकारी र डुवर्सकन्याबाट कृषि अधिकारीहरूको उपस्थिति रहेको थियो। आज सम्पन्न सो शिविरले धेरै किसान परिवारहरू लाभान्वित भएको र अझै छोड़िएकोहरूलाई अर्को शिविरमा कृषि बन्धु र किसान क्रेडिट कार्डको सुविधा उपलब्ध गराईने बताईएको छ।

यता सुन्तलाबारी फरेस्ट राइट्स कमिटीको पक्षबाट अरुण कुमार राईले कृषि विभागबाट आज सम्पन्न शिविरले दुर्गम बक्साद्वार पहाड़को बासिन्दाहरू लगायत प्रायः १८ वटा बनबस्ती बासिन्दाहरूले कृषि बन्धु र किसान क्रेडिट कार्डको सुविधा पाएकोमा कृषि विभाग समक्ष आभार व्यक्त गरेका छन्।आज यसै अवसरमा किसान परिवारहरूलाई किटनाशक औषधिहरू पनि निशुल्क वितरण गरिएको थियो भने अझै भविष्यमा उपकारी लाभहरू प्रदान गर्ने योजना राज्य सरकारको रहेको आत्मा प्रकल्पको चेयरम्यान अधीर रायले बताएका छन्।