गान्तोक: भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डाको आगामी १९ जूनको दिन हुनगइरहेको सिक्किम भ्रमणलाई लिएर पार्टीले प्रदेश स्तरमा व्यापक तयारी गरिरहेको छ। केन्द्रमा मोदी सरकारको ९ वर्ष पूरा भएको अवसरमा चलिरहेको महिनाव्यापी कार्यक्रम अन्तर्गत हुने राष्ट्रिय अध्यक्षको भ्रमण अघि आज पार्टीका राष्ट्रिय उपाध्यक्ष डा. एम. चुबा एओ सिक्किम आइपुगेका छन्। दुई दिवसीय सांगठनिक भ्रमणमा रहेका राष्ट्रिय उपाध्यक्षले आज गान्तोकस्थित पार्टी कार्यालयमा प्रदेश अध्यक्ष डीआर थापा अनि महामन्त्री भरत दुलालको उपस्थितिमा प्रदेश, जिल्ला अनि मण्डल स्तरको केम्पेन कमिटीका सदस्यहरूसित समीक्षा बैठक गरेका छन्।
बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय उपाध्यक्ष डा. चुबा एओले केन्द्र सरकारद्वारा विगत ९ वर्षमा पूर्वोत्तर लगायत सिक्किम राज्यका लागि गरेका तमाम विकासीय तथा जनकल्याणकारी योजनाहरूबारे प्रकाश पार्दै यसको लाभ प्रत्येक सिक्किमे जन-जनसम्म पुगेको बताए। यसै तथ्यलाई सबै कार्यकर्ताहरूले जन-जनसम्म पुऱ्याएर उनीहरूलाई पार्टीसँग जोड्न उपस्थित पदाधिकारीहरूलाई आह्वान गरे। आफ्नो सम्बोधनको क्रममा उनले आगामी राष्ट्रिय अध्यक्षको भ्रमणलाई लिएर गरिनुपर्ने आवश्यक तयारी अनि औपचारिकताहरूबारे पनि पार्टी पदाधिकारीहरूलाई निर्देश दिएका छन्। यस अतिरिक्त राष्ट्रिय उपाध्यक्षले महिनाव्यापी अभियानका अन्य कार्यक्रमहरूबारे पनि उपस्थित पदाधिकारीहरूसित चर्चा गर्दै पार्टीलाई जनतासम्म पुऱ्याउन विशेष गरी जनसम्पर्क अभियानलाई बढ़ावा दिनुपर्ने कुरामा जोर दिए। बैठकमा विभिन्न क्षेत्रीय तथा सिक्किम हितका मुद्दा साथै केन्द्रसमक्ष थाँतीमा रहेका राज्यका मागहरूमाथि राष्ट्रिय उपाध्यक्षसँग खुल्ला चर्चा-परिचर्चा पनि भएको थियो।