गान्तोक: विश्व पर्यावरण दिवसको पूर्वसन्ध्यामा गेजिङ जिल्लमा सफाई अभियान शुरू गरियो। गेजिङ जिल्ला प्रशासन केन्द्र, वन अनि पर्यावरण र गेजिङ नगर पञ्चायतको संयुक्त पहलमा आयोजना गरिएको सर सफाई कार्यक्रममा सिड्डीको व्याङका अध्यङ जनक गुरूङ, जिल्लापाल हिस्से डी. योङदा लगायत अन्य अधिकारीवर्गले पनि सहभागिता जनाएका थिए। आजको सफाई अभियान गेजिङ जिल्ला अस्पतालबाट शुरू भएको थियो जसलमा विभिन्न विभागका कर्मचारीहरूले स्वेच्छाले अंशग्रहण गरेका थिए। यस प्रकारको कार्यक्रम आयोजना गरिनुको प्रमुख उद्देश्य स्थानीय मानिसहरूलाई सर सफाई सम्वन्धि आफ्नो जिम्मेवारीबारे सचेत गराउनु साथै यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिनु रहेको थियो।

यस प्रकारको कार्यक्रमले सर सफाई मात्र सुनिश्चित नगरे प्रकृतिक प्रकोपबाट पनि मानिसलाई जोगाउने गरेको बताइएको छ। धेरै जसो प्रकृतिक प्रकोपहरू झोडा, नाला बन्द भएपछि उत्पन्न हुने गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो। यसरी नै गेजिङ नगर पञ्चायत कार्यालय र गेजिङ बजार परिसरमा पनि सर सफाई गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै गेजिङ जिल्लाका अतिरिक्त जिल्लापाल खेमराज भट्टराईले स्वच्छ गेजिङ अभियानको उद्देश्यबारे जानकारी दिँदै सहभागीहरू र विशेषगरी गेजिङ बजारका बासिन्दाहरूलाई नियमित रूपमा सरसफाई अभियानमा लागेर बजारलाई सफा राख्न थप जिम्मेवारी लिने आग्रह गरे।