गान्तोकः सागा दावाको पुनित अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि बौद्ध धर्मगुरु परम पुज्यनीय पायुल ल्हाटुल रिन्पोछेले आज संयुक्त रूपमा श्रीबदामस्थित पायुल दिछेन ग्वालिङ गुम्बामा नवनिर्मित भव्य नाग्युर पाल्युल जोङ्गाग जामयाङलिङ इन्स्टिच्युट (सेडा)-को विधिवत उद्घाटन गरी गुम्बालाई समर्पित गरेका छन्। पायुल दिछेन ग्वालिङ गुम्बा ट्रस्ट कमिटीको रेखदेख र लगानीमा निर्माण भएको उक्त भव्य अनि बहुउद्देश्यीय सेडाको उद्घाटनपछि मुख्यमन्त्री तामाङले स्थलगत निरीक्षण गरे। रिञ्चेनपोङ समष्टिको अप्पर श्रीबदाममा नवनिर्मित यो सेडा सोरेङ जिल्ला प्रशासनिक कार्यालयदेखि ठीक आठ किलोमिटर टाडा अवस्थित छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पीएस गोलेले एसकेएम पार्टीको सरकार गठनपछि जनताको निम्ति प्रतिबद्धताको साथमा काम गरिरहेको किटान गरे। वर्तमान सरकारले चार वर्षको अवधिमा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको बताए। पछिल्ला चार वर्षमा राजस्व सङ्कलनमा भएको वृद्धिबारे उल्लेख गर्दै मुख्यमन्त्री तामाङले वित्तीय वर्ष २०१८-१९ को तुलनामा ५७ प्रतिशतले वृद्धि भएको जानकारी साझा गरे। उनले विश्व महामारीको समयमा पनि राज्यले वर्ष २०१८-१९-को तुलनामा राजस्व सङ्कलनमा वृद्धि गरेको उल्लेख गर्दै महामारी र भीषण परिस्थितिसँग जुझ्दै राज्यले वर्ष २०२०-२१ मा यसरी राजस्व सङ्कलन गर्नु भनेको राज्यमा विकास भइरहेको छ भन्ने दसी रहेको दावी गरे। राजस्व नबढ़ेसम्म राज्यको प्रगति नहुने बताउँदै राज्य सरकारले सबै फिजुल खर्च कटौती गरेको उनले जानकारी गराए।
मुख्यमन्त्री गोलेले आज नवउद्घाटित पायुल ग्वालिङ छ्योलिङ गुम्बाको लागि सेडामा पढ़ाउन दुईजना शिक्षकको नियुक्ति पत्र पनि गुम्बाका प्रमुख परम धर्मगुरु पायुल ल्याटुल रिन्पोछेलाई हस्तान्तरण गरे। मुख्यमन्त्रीले चार वर्षको कार्यकालमा एसकेएम सरकारले शुरु गरेको दीर्घकालीन विकास र कल्याणकारी योजनाहरुमाथि पनि छोटकरीमा प्रकाश पारे। सेडा भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गोलेको साथमा परम पुज्यनीय पायुल ल्याटुल रिन्पोछे, छिमेकी राष्ट्रबाट विशिष्ट अतिथि खेम्पो टाम्दिन सिटो, मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङ, क्षेत्र विधायक केएस लेप्चा, विधायक आदित्य गोले, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, सोरेङ जिल्लाका जिल्ला पञ्चायत अध्यक्ष तिलारुपा गुरुङ, विभिन्न बोर्ड र विभागका सल्लाहकार र अध्यक्षगण, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव सुकहाङ सुब्बा, सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालसहित जिल्लाका विभागीय शीर्ष अधिकारीगण, स्थानीय जिल्ला तथा ग्राम पञ्चायतगण, बौद्ध धर्मगरु, भक्तजनको बाक्लो उपस्थिति रहेको थियो।