गान्तोक: सिक्किम ओलम्पिक एसोसिएशनको वार्षिक आम सभा यहाँको पाल्जोर स्टेडियममा सम्पन्न भयो। बैठकमा २० वटा आबद्ध संगठनहरूका अध्यक्षगण, कार्यकारी सदस्यगण अनि सोरेङ, गेजिङ जिल्लाको सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्षगण र कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो।
सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकमा खेल क्षेत्रमा आवश्यक पूर्वाधार विकास, सरकारी नोकरीमा खेलाड़ीहरूलाई २-देखि ५ प्रतिशतको आरक्षण, अनुदान, भत्ताहरूद्वारा निरन्तर सहयोग प्रदान गरेवापत राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति सबैले कृतज्ञता प्रकट गरे।
बैठकमा संगठनका महासचिव अर्जुन पुरस्कार प्रापक बक्सर जसलाल प्रधानले वार्षिक प्रतिवेदन पेश गरे भने कोषाध्यक्ष दावा तामाङले वर्ष २०२२-२३-को वित्तीय प्रतिवेदन पेश गरे। आम सभाले आगामी २३ जूनको दिन सबै विषयहरूमा खेलकुद गतिविधिहरूसँगै रक्तदान शिविरको साथमा अन्तरराष्ट्रिय ओलम्पिक दिवस पालन गर्ने निर्णय लियो। नागाल्याण्डमा आयोजन हुने पूर्वोत्तर ओलम्पिक खेलहरूको निम्ति खेलाड़ीहरूको तयारी अनि जिल्ला र राज्य ओलम्पिक खेल आयोजन गर्नेबारे सभामा छलफल गरियो।

योसँगै सिक्किम ओलम्पिक संगठनले पाँचौं खेलो इण्डिया युथ खेल २०२३-का पदकधारी अनि प्रशिक्षकहरूलाई सम्बर्द्धना जनाउने कार्य गऱ्यो। नेशनल स्पोर्स्ट फेडरेशनमा निर्वाचित अनि मनोनित सदस्यहरूलाई पनि आज सम्बर्द्धना जनाउने कार्य गरियो।