जाति र गोर्खाल्याण्डको नाममा भोट मागेर आफ्नो रोजगार चलाउने नेताहरु पनि छन्: अनित थापा
दार्जिलिङ: तकदाह टिस्टा भ्याली समष्टि अन्तर्गत विभिन्न गाउँहरुको निम्ति जल जीवन मिसन अन्तर्गत हर घर जल योजनाको जीटीए प्रमुख कार्यपाल अनित थापाले आज एउटा कार्यक्रममा विधिवत शिलान्यास गरे। उक्त शिलान्यास कार्यक्रममा बोल्दै अनित थापाले भने, “हाम्रो पहाड बेरोजगार नै नहुनु पर्ने ठाउँ हो। तर यहाँ धेरै बेरोजगार छन्। रोजगार भनेको नौकरी मात्र होइन। स्वरोजगार पनि रोजगारको विकल्प हो। विकल्पहरू हामीले खोजी नै रहनु पर्छ।”
उनले अझ भने, “रोजगार राजनैतिक झण्डा थामेर पाईन्दैन। हामी जनतालाई सम्झाउँदै जान्छौ, पछिबाट कसैले त्यही जनतालाई चम्काउँदै आउँछ। हामी गोर्खा नै हौं। हाम्रो चाहना गोर्खाल्याण्ड हो। तर जातिको नाममा, गोर्खाल्याण्डको नाममा भोट मागेर आफ्नो रोजगार चलाउने नेताहरु पनि छन्। तर जनताले भोट नेताको काम हेरेर दिन्छ।”
उनले बीजीपीएम वैचारिक राजनीतिमा विश्वास राख्ने पार्टी हो भन्दै भने, “बोलेको कुरा सबै पूरा हुन्छ भन्ने छैन रहेछ। बोलेको कुरा पूरा हुने भए यतिन्जेल गोर्खाल्याण्ड भै सक्नु पर्ने थियो। एउटा समय थियो हामीलाई हाम्रो नेताहरुले गोर्खाल्याण्डको नाममा छिमेकीलाई पनि विरोधी हो भन्ने बनाई दिन्थ्यो। हामी उनीहरूले उचाल्दा झन उफ्रन्थ्यौं। तर हामीले उपलब्धि केही हाँसिल गर्न सकेनौं। वर्तमानमा हामीले लड्दै गरेको लडाई यस्तै सोच अनि विचारमा परिवर्तन ल्याउने लडाई हो। “
विकास हरेक नागरिकको अधिकार हो भन्दै उनले भने, “सरकारले हामीलाई पानी दिनु नै पर्छ। अस्पताल दिनु नै पर्छ। बाटो बनाई दिनु नै पर्छ। हाम्रो अधिकार हो। हामीले तिरेको ट्याक्सको पैसाले नै यी सबै योजनाहरु यहाँ हुँदैछ चाहे त्यो राज्यबाट आएको होस या केन्द्रबाट। विकास विस्तारै हुने कुरा हो। भौतिक विकासको साथमा वैचारिक परिवर्तन पनि हुनुपर्छ।”
आज गरिएको योजनाको शिलान्यास अनुसार तकदाह फरेस्ट १.०५ करोड, पुबोङ चियाबगान मा ६.७१ करोड, पुबोङ खास्मालमा ४.९८ करोड, जिङलाम अनि गेल चियाबगान मा १०.०२ करोड अनि हम तकदाह खासमलमा ११.७६ करोडको कार्य हुनेछ।
आजको कार्यक्रममा क्षेत्रका सभासद डेण्डुप पाख्रिन, प्रमोष्कर ब्लोन, एक्जिक्युटिभ डाइरेक्टर सामदेन डुक्पा अनि सल्लाहकार अमर लामाको विशेष उपस्थिति रहेको थियो।