एफए कपमा म्यानचेष्टर सिटी चार सालपछि च्याम्पियन

IMG-20230604-WA0054.jpg

४ जूनः असाधारण फर्ममा रहने म्यानचेष्टर सिटीले एफए कपको खिताब जित्यो। शनिवार राति खेलिएको फाइनलमा म्यानचेष्टर सिटीले आफ्नो चीरप्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। म्यानचेष्टर सिटीको यो समग्रमा सातौं एफए कप खिताब हो। टीमले अन्तिमपल्ट २०१९-मा ट्रफी जितेको थियो। त्यस समय सिटीले फाइनलमा वाटफोर्डलाई ६ गोलले पराजित गरेको थियो। यसरी २०१८-को फाइनलमा चेल्सी विरुद्ध १-०-ले पराजित हुने म्यानचेष्टर युनाइटेडसँग यस साल खिताब जित्ने मौका रहेको थियो तर विपक्षी टीमका मीडफिल्डर इल्के गुण्डोगनको प्रभावशाली प्रदर्शनले टीमको सपना भताभुंगै पाऱ्यो। एफए कपमा सर्वाधिक १४ पल्ट खिताब जित्ने रेकर्ड आर्सनलको नाममा रहेको छ। यसरी नै म्यानचेष्टर युनाइटेड १२ वटा खिताबको साथ दोस्रो स्थानमा रहेको छ। ईंग्लिश प्रीमियर लीगमा अगावै च्याम्पियन बन्ने म्यानचेष्टर सिटी यसपाली एफए कपको खिताब जितेर सीजनमा ट्रेबल पूरा गर्ने नजिक पुगेको छ। सिटीले अब १० जूनमा अबेर राति १२.३० बजीदेखि शुरु हुने यूएफा च्याम्पियन्स लीगको फाइनलमा इण्टर मिलानको चुनौती स्वीकार्नेछ। जारी सीजनमा अप्रतिरोध देखिएको सिटीले इण्टर मिलानलाई पराजित गरी ट्रफी जित्न सके ऐतिहासिक ट्रेबल पूरा गर्नेछ।
वेम्बले स्टेडियममा खेलिएको फाइनलमा म्यानचेष्टर सिटीको तर्फबाट अनुभवी खेलाड़ी इल्के गुण्डोगनले चमत्कारी प्रदर्शन गरे। उनले म्याचमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने सिटीलाई शुरुमै गोल दिलाए। गुण्डोगनले म्याच शुरु भएको १६ सेकेण्डपछि दाहिने खुट्टाले दर्शनीय भलीद्वारा गोल गरी सिटीलाई बढ़त दिलाए। यसरी गुण्डोगनले एफए कपको फाइनलमा सबैभन्दा तेज गोलको रेकर्ड पनि बनाए। शुरुमै गोल खाएपछि लगातार आक्रमण गर्ने म्यानचेष्टर युनाइटेडले मध्यान्तर अघि बराबरी हासिल गऱ्यो। ब्रूनो फर्नाण्डेजले ३३औं मिनटमा पेनल्टीबाट गोल गरी टीमलाई १-१-को बराबरीमा पुऱ्याए। मध्यान्तरपछि म्यानचेष्टर सिटीले फेरि बढ़त हासिल गर्न अधिक समय लगाएन। गुण्डोगनले म्याचको ५१औं मिनटमा फेरि दर्शनीय गोल गरी सिटीलाई २-१-को बढ़त दिलाए, जुन अन्तमा निर्णायक साबित भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement