काठमान्डौ: नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अगस्तको शुरुमा चीन भ्रमण गर्ने सम्भावना खुलेको छ। प्रचण्डले भ्रमणको सम्भावित मितिबारे चिनियाँ पक्षलाई सन्देश पनि पठाएको खुलेको हो। बिहिवार साँझ चीन भ्रमणबाट फर्किएको नेकपा माओवादी केन्द्रका अध्यक्ष अग्निप्रसाद सापकोटासहितको २० जना माओवादी नेताहरुको टोलीले काठमांडूमा आज शुक्रवार पत्रकार सम्मेलन गरी प्रचण्डको सम्भावित चीन भ्रमणबारे खुलाएका हुन्। भ्रमण दलका नेता सापकोटाले प्रचण्डले नै अगष्टको सुरुतिर भ्रमणको सम्भावनाको सन्देश आफूमार्फत् पठाएको बताए। प्रचण्ड भारत भ्रमणमा रहँदा चीन भ्रमणको सम्भावित मितिबारे खुलासा भएको हो। भारत जानुअघि नै प्रचण्डलाई चीन भ्रमणको निम्तो आएको थियो। तर, उनले पहिलो विदेश भ्रमणको गन्तव्य भारतलाई नै बनाए। माओवादी उपाध्यक्ष सापकोटाले चीनको बीआरआईबारे पनि कुराकानी भएको बताए। बीआरआईका केही योजना अनुदानमा भए आयोजना अगाडि बढाउन सकिने प्रस्ताव राखेको जानकारी दिए। २०१७ मा चीनसँग नेपालको बीआरआई सम्झौता भएपनि आयोजना बढ्न सकेको छैन नेपालले ऋणमा नभई अनुदानमा बीआरआई स्वीकार्ने अडान लिएको छ।