हिमालय क्षेत्रको सांस्कृतिक पर्यटन सम्बन्धी खरसाङ कलेजमा अमेरिकी संयुक्त राज्यकी प्राध्यापक भास्कीद्वारा वार्ता प्रस्तुत

IMG-20230603-WA0210.jpg

खरसाङ: खरसाङ कलेज र दार्जिलिङ हिल्स युनिभर्सिटीको संयुक्त तत्वावधानमा कालेबुङ हिमालय क्षेत्रको सांस्कृतिक पर्यटन सम्बन्धी महत्त्वपूर्व विषयलाई लिएर एक दिवसीय संवार्ता कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रमका वार्ताकार संयुक्त राज्य अमेरिका कर्नेल विश्वविद्यालयकी सहायक प्राध्यापक तथा सांस्कृतिक मानवशास्त्री सारा बास्की उपस्थित थिए भने उक्त कार्यक्रमको अध्यक्षता दार्जिलिङ हिल्स युनिभर्सिटीका उपकुलपति प्रो. प्रेम पोद्दारले गरेका थिए। वार्ताको विषय ‘Estate Logics & the making of an Agrarian Enclave in the Bengal Himalaya’ रहेको थियो। यसमा बिट्रिश उपनिवेश कालपूर्वदेखि वर्तमान अवस्थासम्मका कालेबुङको सांस्कृतिक पर्यटनका विकास, प्रगति र चुनौतीबारे विशेष केन्द्रित गरेर वार्ता प्रस्तुत गरिएको थियो। सम्बन्धित विषयबारे विद्यार्थीहरू र शिक्षकहरूले राखेका विभिन्न जिज्ञासाहरूलाई समेत वार्ताकार भास्कीले सहज रूपमा प्रतिउत्तर गरेर लाभान्वित गराए। संवार्ताको यसै सिलसिलामा खरसाङ कलेजका साथै दार्जिलिङ हिल्स युनिभर्सिटीका अध्ययनरत् विद्यार्थीहरूले पहाडका एक मात्र नवनिर्मित विश्वविद्यालयका विभिन्न बुनियाँदी र आधारभूत समस्याहरूलाई लिएर उपकुलपति समक्ष जिज्ञासाहरू पनि राखेका थिए। विद्यार्थीहरूका जिज्ञासाप्रति मध्यनजर राख्दै उपकुलपतिले सबैलाई आशावादी हुने आह्वान गर्दै कलेजका प्राचार्य डा. समीर बललाई कार्यक्रमको निम्ति धन्यवाद प्रकट गरेका थिए। कार्यक्रममा साउथ फिल्ड कलेज, कालेबुङ कलेज र मिरिक कलेजका प्राध्यापकहरूको उपस्थिति रहनुका साथै साउथफिल्ड कलेजका प्राचार्य डा. अनुराधा राई साथै मिरिक कलेजका भारप्राप्त प्राचार्य निमा लामा विशेष रूपमा उपस्थित थिए। प्रा. सुदर्शना प्रधानले सञ्चालन गरेकी उक्त कार्यक्रममा डा. सिर्जना राईले उपकुलपतिको परिचयात्मक विवरण प्रस्तुत गरे भने वार्ताकार सारा भास्कीको औपचारिक परिचय डा एनके. सी लेप्चाले प्रस्तुत गरे। प्रा. दावा शेर्पाले संवार्ताका निम्ति सहजकर्ताको कार्यभार सम्हालेका थिए भने धन्यवाद ज्ञापन कलेजकै वरिष्ठ प्राध्यापक गङ्गाप्रसाद शर्माले राखेका थिए। अन्त्यमा उपकुलपति एवम् अतिथि वार्ताकारलाई कलेजको तर्फबाट प्राचार्य डा. समीर बल साथै वरिष्ठ प्राध्यापक तारा लोहारका बाहुलीबाट उपहार प्रदान गरियो। यसको साथै विभिन्न कलेजबाट सहभागी हुन आउने प्राध्यापकहरूलाई प्रमाणपत्र प्रदान गरेर कार्यक्रमको समापन गरियो भनी जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement