खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुंग-सन्तमेरिज समष्टि अन्तर्गत दिलाराम चियाबारी क्षेत्रमा उप-स्वास्थ्य केन्द्रको निर्माण भइरहेको जानकारी प्राप्त भएको छ।बिजुली, पानी, यातायात एवं शिक्षा मानिसको जीवनको बुनियाँदी विषय-वस्तु भएको हुनाले यस अन्तर्गत नै टुंग सन्त मेरिज समष्टिभित्र यसै क्रममा विकासका कार्यहरु भइरहेको र यसै क्रममा स्वास्थ्य सेवालाई प्राथमिकता दिएर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अधीनस्थ खरसाङ अभियन्त्रित विभाग (केईडी)-द्वारा निर्माण भइरहेको यस उप-स्वास्थ्य केन्द्रको कार्य अब अन्तिम चरणमा आई पुगेको जानकारी प्राप्त भएको छ। उक्त निर्माणाधीन अवस्थामा रहेको उप स्वास्थ्य केन्द्रको आज टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पाले उक्त उप स्वास्थ्य केन्द्रको निरीक्षण गरेका छन्।
यस समष्टीक एकजना जनप्रतिनिधिको रुपमा सोही निर्माण भइरहेको स्वास्थ्य केन्द्रको निरिक्षण गर्न कार्य स्थलमा नै पुगेका थिए। उक्त निरीक्षण कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै सभासद नुरी शेर्पाले उक्त उप स्वास्थ्य केन्द्रको निर्माणको कार्य अति नै असल अनि गुणात्मक ढाँचामा निर्माण भइरहेको बताएका छन्। यसरी आफ्नो घर-आँगनमा नै उप स्वास्थ्य केन्द्रको निर्माण भएर स्वस्थ्य सेवा पाउन लागेकोमा स्थानीय वासिन्दाहरुद्वारा खुशी प्रकट गरेका छन्। अब पूर्णरुपले यस उप-स्वास्थ्य केन्द्र निर्माण भइसकेपछि चाढै नै यस केन्द्रको उदघाटन गरी यसको सही प्रकारले सञ्चालन गर्न हेतु स्वास्थ्य कर्मी(एएनएम), आशा कर्मी लगायत डाक्टरको पनि यस उप-स्वास्थ्य केन्द्रमा उपलब्ध गराउने भरपूर प्रयास गरिरहेका छौं सभासद नुरी शेर्पाले बताएका छन्।

यसका साथै दिलाराम चियाबारी क्षेत्रमा सार्वजनिक भवनको पनि नितान्त आवश्यक रहेको स्थानीय ग्रामवासीहरुद्वारा अवगत गराइएको छ भने यसको निम्ति सही अनि सठीक ठाउँ हेरेर जनताको इच्छा-आकांक्षालाई मध्य नजर राख्दै सार्वजनिक भवन निर्माणको निम्ति पनि यथाशीघ्र पहल गरिदिने वचन सभासद शेर्पाले दिएका छन्। उक्त उप स्वास्थ्य केन्द्रको निरीक्षण गर्ने टोलीमा भागोप्रमो टुंग -सन्त मेरिज समष्टिको युवा सचिव दिपेश तामङ, जोनल सभापति बसन्त कुलुङ राई, दिलाराम चियाबगानका ट्रेड युनियनका प्रतिनिधिगण लगायत स्थानीय ग्रामवासीहरुको उपस्थिति रहेको थियो भनी जानकारी प्राप्त भएको छ।










