३ जूनः फ्रान्सको शीर्ष घरेलु फूटबल क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-का प्रशिक्षक क्रिस्टोफ गेल्टरले बताएअनुसार, स्टार स्ट्राईकर लियोनल मेस्सी यस सत्रको अन्तमा क्लबबाट अलग हुनेछन्। मेस्सी गत दुई सालदेखि क्लबमा रहेका छन्। यस सीजनमा २१ वटा गोल र २० वटा एसिस्ट गर्ने मेस्सी २०२१-मा स्पेनिश क्लब छोड़ेर पीएसजी-मा सामेल भएका थिए। क्रिस्टोफ गेल्टरले शनिवार क्लेरमोण्ट विरुद्ध खेलिने पीएसजी-को म्याच अघि ३५ वर्षीय मेस्सीको निम्ति क्लबको जर्सी लगाएर यो अन्तिम म्याच हुने बताए। गेल्टरले भने, मलाई फूटबल इतिहासका सर्वश्रेष्ठ खेलाड़ीलाई कोचिंग दिने सौभाग्य प्राप्त भयो। पार्स डेस प्रिन्सेसमा यो उनको अन्तिम म्याच हुनेछ। म्याचमा उनलाई प्रशंसकहरूले जोश र उत्साहको साथ स्वागत जनाउने मलाई विश्वास छ।
फ्रान्सीसी क्लबमा मेस्सीले ३० नम्बर जर्सी लगाएर खेले। उनले पीएसजी-बाट दुईवटा सीजनमा अहिलेसम्म जम्मा ७४ वटा म्याच खेले। यस अवधि उनले ३२ गोल गरे। यसमा २२ गोल उनले फ्रेञ्च फूटबल लीगमा गरे। यसरी नै ९ गोल यूएफा च्याम्पियन्स लीगमा गरे। यसको साथमा उनले ३५ वटा एसिस्ट पनि गरे। मेस्सीको उपस्थितिमा क्लबले दुवै सीजनमा घरेलु लीग खिताब जित्यो तर च्याम्पियन्स लीगमा चाहिँ टीमले राउण्ड अव् १६-को वाधालाई पार गर्न सकेन।
फ्रेञ्च मीडिया रिपोर्ट अनुसार, मेस्सीलाई पीएसजी-ले दुई हप्ताको निम्ति निलम्बित गरेको थियो। सऊदी अरब गएको हुनाले क्लबले मेस्सीमाथि उक्त निलम्बन लगाएको थियो। यूरोपेली मीडिया रिपोर्ट अनुसार, मेस्सी अहिले सौदी अरबको क्लब अल हिलालमा सामेल हुने तर्खरमा रहेका छन्। यो क्रिस्टियानो रोनाल्डोको क्लब अल नेसरको चीरप्रतिद्वन्द्वी क्लब हो। यसको साथमा धेरैले मेस्सी आफ्नो प्रिय क्लब बार्सिलोनामा फर्किने दावी पनि गरेका छन्।










