गान्तोक: सिक्किम सरकारको ग्रामीण प्रवन्धन विभाग अधीनस्थ स्टेट रुरल लाइभलिवुड मिशन (एसआरएलएम)को लाइभलिवुड डिभिजनद्वारा कृषिशखीहरूलाई लिएर आयोजना गरेको पाँच दिने प्रशिक्षण शिविरको आज समापन भयो। राजधानीको तादोङ सोकेथाङ स्थित पशुपालन विभागको प्रशिक्षण केन्द्रमा आयोजित यस प्रशिक्षण शिविरमा राज्यका विभिन्न जिल्लाका ३३ वटा ब्लकबाट ३३ जना नै कृषीशखीहरूले सहभागिता जनाएका थिए।
विशेष गरेर सिजनल खरिफ फसल साथै कृषिसित सम्बन्धित अन्य विषयहरूलाई समाहित गरेर आयोजित प्रशिक्षण शिविरमा सिक्किम सरकारको कृषि एवं बागवानी विभागका अधिकारीहरू स्रोत वक्ता रहेका थिए जसले सम्बन्धित विषयहरूमा कृषिशखीहरूलाई विभिन्न जानकारी एवं प्रशिक्षण दिए। पाँच दिने प्रशिक्षण शिविर दुवै थ्यूरिटिकल र प्रेक्टिकल रहेको थियो। प्रेक्टिकल प्रशिक्षणको निम्ति सहभागीहरूलाई छेवैको आइसीएआर-को फार्ममा लगिएको थियो जहाँ आइसीएआर-का विशेषज्ञहरूले उनीहरूलाई विभिन्न विषयमा जानकारी दिए।
प्रशिक्षण शिविरको आज समापन समारोहमा कृषि विभागका निर्देशक बीएल दाहालको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा सहभागी कृषिशखीहरूले विभागका अधिकारी समक्ष आफ्ना समस्या र मागहरू पनि राखे जसलाई आगामी दिनमा विभागले अवश्य सम्बोधन गर्ने निर्देशक दाहालले आश्वासन दिएका छन्।
कार्यक्रमको अन्तमा सहभागी कृषिशखीहरूले आफ्नो अनुभव साझा गर्दै यो प्रशिक्षण शिविर आयोजना गरेकोमा स्टेट रुरल लाइभलिवुड मिशन प्रति आभार व्यक्त गरे।