गान्तोक: राज्यका गाईहरू लम्पी रोगको संक्रमणमा परेपछि हामीले दैनिक जीवनमा प्रयोगमा ल्याउने दूध खान केही मानसिक आशंका, असमञ्जस्यतामाझ राज्यको पशु चिकित्सा सेवा विभागीय अतिरिक्त निर्देशक डा. टीबी घतानीले साधारणतः ३५-देखि ४० डिग्री सेल्सियसमा भाइरस मर्ने उल्लेख गर्दै दूध खान कुनै जोखिम नरहेको स्पष्ट पारेका छन्। तथापि, राज्यमा लम्पी रोगले संक्रमित गाईहरूको दूध भने सम्बन्धित दूध जमा केन्द्रमा लिने कार्य नगरेको उनले स्पष्ट पारेका छन्। पत्रकारहरूसँगको कुराकानी अवधि उनले लम्पी रोगले संक्रमित बनेका गाईहरूको दूध कृषकहरूले पनि सम्बन्धित दूध जमा केन्द्रमा नल्याइदिने आह्वान गरेका छन्। किनभने, लम्पीको संक्रमण मान्छेमा प्रभावकारी नरहे पनि यो संक्रमित गाई गोठमा पसेका व्यक्ति अर्को गाई गोठमा पुगे त्यो नयाँ गोठमा रहेको गाईलाई सर्ने सम्भावना प्रबल रहेको छ। यसर्थ, लम्पीले संक्रमित गाईसँग सम्पर्कमा रहेका व्यक्ति अन्य ठाउँमा नगइदिने उनले आह्वान गरेका छन्।
जानकारी गराइन्छ, राज्यमा लम्पी रोग गत वर्ष दिसम्बर महीनादेखि देखापरेको थियो। सर्वप्रथम यसको पहिलो मामिला पाकिम जिल्लाको रिनाकमा फेला परेको थियो। हाल राज्यको ६ वटै जिल्लामा यसको संक्रमणले गाई-वस्तुहरू पीड़ित रहेको छ। हिजो दिउँसोसम्मको विभागीय आँकड़ाअनुसार, हालसम्म ९९२ वटा गाई लम्पी रोगले संक्रमित बनिसकेको छ, जसमध्ये ३१ वटाले ज्यान गुमाएको अनि ४०४ वटा निको भइसकेको छ भने हाल ५५७ वटा यसको सक्रिय मामिला रहेको छ।
लम्पी रोग रोकथामहेतू टीकाकरण साथै कोरोनाको चेन ब्रेक गरेजस्तै यसको संक्रमणको चेन ब्रेक गर्नु निदानको मुख्य पहल गरेको अतिरिक्त निदेशक डा. घतानीले जानकारी गराएका छन्। यस दिशामा विभागले राज्य अनि जिल्ला स्तरीय कार्य बल गठन गरेर युद्धस्तरमा कार्य गरिरहेको उल्लेख गर्दै हालसम्म २५ हजार १३१ वटा गाईलाई यसको टीका लगाइसकेको छ भने यो कार्य तीव्रताको साथ अघि बढ़ाइँदैछ। लम्पी रोग प्रतिरोधक टीका लगाइसकेको २८ दिनपछि मात्र यसले काम गर्ने हुनाले गर्दा अगावै संक्रमण शुरु भइसकेको गाई-वस्तु भने टीका लगाइसकेपछि पनि यो रोगले संक्रमित बन्ने गरेको बताइएको छ।