गान्तोकः राजधानीस्थित राजभवनमा आज तेलंगाना राज्य स्थापना दिवस मनाइयो। सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको विशेष उपस्थितिमा पालन गरिएको सो दिवसमा सिक्किममा बसोबास गरिरहेका तेलंगनाका नागरिक, राजभवन परिवारका सदस्यहरू, संस्कृति विभागका कलाकारहरू आदि उपस्थित थिए। यस अवसरमा कलाकारहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे। कलाकारहरूले तेलंगानाको नृत्य पनि प्रस्तुत गरेर ‘एक भारत श्रेष्ठ भारत’ को उदाहरण प्रस्तुत गरेका थिए। राज्यपालले तेलंगानाका नागरिकहरूलाई प्रेस स्वरूप उपहार प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल आचार्यले भने, ‘तेलंगाना स्थापना दिवसको उत्सव सिक्किमको राजभवनमा मनाउनु एक जन, एक संस्कृति, एक राष्ट्रको अद्भुत उदाहरण हो। भारतको एकता र अखण्डतालाई मजबूती प्रदान गर्ने तथा सांस्कृतिक विविधता र परम्पराहरूको उत्सवको रूपमा मनाउने उद्देश्यका साथ शुरू गरिएको यस पहलको आन्तरिक ह्रदयबाट सम्मान गर्दछु।’

राज्यपालले अघि भने, ‘भारतको विविधतामा भिन्न धर्म, भाषा, संस्कृति, जाति आदि अनेक तरिकामा आफ्नो पहिचान राखेको छ। यी सबै संस्कृतिहरूका साथै उनीहरूका विशिष्टतालाई बुझ्नु र सम्मान गर्नु भारतको एकताको निम्ति आवश्यक छ। एक भारत श्रेष्ठ भारत- को संकल्पनाले राष्ट्रको एकता-अखण्डतालाई अझ बलियो बनाउॅंदैछ।’ उनले २ जून, २०१४ मा भारतको २८औं राज्यको रूपमा सामेल भएको तेलंगना राज्य देशको सबैभन्दा नवनिर्मित अनि समृद्ध संस्कृतिहरूको राज्य रहेको बताए। उनले तेलंगानाका नागरिकहरूलाई स्थापना दिवसको अभिनन्दन एवं शुभकामना व्यक्त गरे।