गान्तोक: स्थानीय उत्पादहरूलाई प्रोत्साहन प्रदान गर्न सिक्किम परिवहन विभागको तत्वावधानमा आज राजधानीस्थित एसएनटी परिसरमा सिक्किम सुप्रिमद्वारा उत्पादित, तिमी चिया र एक क्याफेटेरिया स्थापना गरिएको छ। सिक्किम परिवहन विभागका मन्त्री एमएन शेर्पाले यसको विधिवतरूपमा उदघाटन गरे। यसै अवसरमा मन्त्री एम एन शेर्पाले एसएनटीको एक पहल एकल प्रयोग प्लास्टिकबारे तयार पारिएको सचेतनामुलक पाम्पलेटको पनि लोकार्पण गरे। उनले इण्डियान रेलवे क्याटरिङ एण्ड टुरिज्म कार्पोरेशन लिमिटेड (आईआरसीटीसीद्वारा तयार पारिएको एक वृतचित्रको पनि अवलोकन गरे। यस अवसरमा एसएनटी सचिव राज यादव, एसएनटी अध्यक्ष बसन्त तामाङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा सञ्चारकर्मीहरुसित कुरा गर्दै मन्त्री शेर्पाले आज उद्वघाटन गरिएको यी पुर्वाधारहरूले स्थानीय उत्पादलाई प्रोत्साहन गर्नका साथै राज्यमा आउने पर्यटकहरूमा पनि यसले सिक्किमको स्थानीय उत्पादनबारे रूची बढाउन सक्ने सम्भावना व्यक्त गरे। मन्त्री शेर्पाले रिड्युस, रि युज र रिसाईकल अर्थात थ्री आरमा एसएनटीको पहलबारे जानकारी गराए। एसएनटीलाई एक नमुनाको विभाग बनाउने सरकारको योजना रहेको मन्त्रीले बताएका छन्। उनले यातायात विभागको राजस्व वृद्विबारे प्रकाश पार्दै आफ्नो एवं सरकारको तर्फबाट सबै अधिकारी एवं कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन्। सोही प्रकारले इण्डियन रेलवे क्याटेरिङ एण्ड टुरिज्म कार्पोरेशन लिमिटेडका उप महा प्रबन्धक (पर्यटन) राजेन्द्र बोरबन र विशेष सचिव ओएसडी रेलवे एमडी भोटियाले आईआरसीटीसीको गतिविधि र यसको बुकिङ प्रकियाबारे जानकारी गराए।