भारत-चीन युद्धकालको ‘आकाशवाणी खरसाङ’ ६२ वर्ष पुग्यो  

00-1-AIR-1

खरसाङ: सन्१९६२, भारत-चीन सीमा क्षेत्रमा भीषण युद्ध चलिरहेको बेला भारतको लागि अति नै संवेदनशील समय थियोl नेपाल, बङ्गलादेश, भुटान र चीन नजिक रहेको यस हिमाली भेकमा भारत सरकारलाई सूचना प्रसारणको आवश्यकता थियोl यस आवश्यकतालाई प्रमुखता दिँदै २ जून १९६२ मा भारत सरकारले यस हिमाली भेकको एउटा सानो मनोरम शहर खरसाङमा रेडियो स्टेशन स्थापना गर्योl सन् १९६२ मा युद्धकालका बेलामा स्थापित भएको यहाँको रेडियो २ जूनमा ठ्याक्कै ६२ वर्ष पुगेको छl

भारत सरकार अधिनस्थ ‘आकाशवाणी’ नामले लोकप्रिय बनेको यहाँको रेडियो स्टेशनले शुक्रबार (२ जून) ६२औं स्थापना दिवस भव्य रुपमा हर्षोल्लासपूर्ण वातारणमा मनायोl दार्जीलिङ पहाडी भेकको मात्र नभएर समग्र भारतीय नेपाली समाजको सामाजिक, सांस्कृतिक, भाषा र साहित्यको क्षेत्रमा ‘आकाशवाणी’ खरसाङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छl आज स्थापना दिवसको कार्यक्रममा नेपाली संसारका सुपरिचित सङ्गीतकार तथा गायिका सुश्री शान्ति ठटाल र सुपरिचित गायक पेमा लामा, आकाशवाणी खरसाङका वरिष्ठ कलाकारहरू, वार्ताकारहरू, साथै आकाशवाणी खरसाङका पूर्व अधिकारीहरू उपस्थित थिएl कार्यक्रममा दार्जीलिङ पहाडी भेककी सुपरिचित गायिका भावना थापाले ‘सम्हालेर राख सजाएर राख..’जस्ता शान्ति ठटालको कालजयी गीतहरू गएर सबैलाई साट्ठी र सत्तरको दशकको स्मरण गराएl पेमा लामाले स्व. पारस गजमेरको लोकप्रिय गीत ‘साँझको घाम डुबिसक्यो, यात्रा अझ बाँकी नै छ…’ गाएl यस कार्यक्रममा अर्को विशेष आकर्षण थियो ‘भोइस अफ किड्स नेपाल’ का विजेता स्पन्दन सुब्बाl पहिलो चरणको कार्यक्रम रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको थियो भने दोस्रो चरणको कार्यक्रम आकाशवाणी खरसाङका कार्यक्रम प्रस्तोताहरू र कर्मचारीहरूले रंगारंग कार्यक्रम प्रस्तुत गरेl कार्यक्रममा कार्यक्रम निष्पादक पारसचन्द्र आलेले स्वागत भाषण राखेl

सन् १९६२ मा स्थापित भएको आकाशवाणी खरसाङले सङ्गीत र नाटक क्षेत्रका कयौं कलाकारहरूलाई उकेरा दिँदै आएको छl सन् १९६२ मा खरसाङमा रेडियो स्थापना हुँदा नेपाली चलचित्रकी लोकप्रिय नायिका तृप्ति नाडकरकी आमाले गीत गएकी थिइन् भन्ने एउटा भेटघाटमा तृप्तिले सन् २००५ मा यस प्रतिवेदकलाई बताएकी हुन्l स्थापना हुँदा सन् १९६२ मा सो बेलाका चर्चित गायक स्व० गजेन्द्र नारायण प्रधानले आफैले सङ्गीत रचना गरेका गीत ‘चुँइयामा हा…हा…’ गएका थिएl यो गीत सर्वाधिक लोकप्रिय बन्यो, र कालान्तरमा यो धेरैले आआफ्नै ढाँचामा गाएl यसपछि साट्ठी र सत्तारको दशकको हाराहारीमा चर्चित गायिका सानुमाया तामाङको गीत ‘फूल फुल्यो पहेंली ए साइँली..’, ‘एस रविदासको ‘हरेक रात निलो आकाशमा…’ आकाशवाणी खरसाङबाट बज्ने गीतहरू समग्र दार्जीलिङ पहाडमा लोकप्रिय थिएl यी गीतहरू बज्दा आकाशवाणी खरसाङ रेडियो भनेर चिनिन्थ्योl सन् १९७० सत्तरको दशकमा नेपाली साहित्य संसारका प्रख्यात कथाकार शिवकुमार राई र सो बेलाकी चर्चित उद्घोषिका छिमी अङ्मु लामाद्वारा संचालित कार्यक्रम ‘शम्भु दाईको हुलाक’ सर्वाधिक लोकप्रिय कार्यक्रम थियोl सो बेला हरेक शुक्रबार साँझ साँढे छह बजे पर्सारण हुने यस कार्यक्रममा शुम्भु दाईको भूमिका शिवकुमार राई अनि शोभा बहिनीको भूमिका छिमी अङ्मु लामा निर्वाह गर्थेl शोभा बहिनीको अट्ठहास हाँसो, श्रोताहरूको घुमाउरो प्रश्न र शम्भु दाईको पेचिलो जवाबलाई आज पनि धेरैले बिर्सिएका छैनन्l यो कार्यक्रम नेपालमा पनि उतिकै सुन्ने गर्थ्योl शम्भु दाई र शोभा बहिनीलाई भेट गर्न नेपालबाट पनि आउने गर्थेl हिजोआज यहाँका कार्यक्रमहरूमा ‘गाउँले सभा’, ‘डाक पुतली’, ‘कुरै कुरामा’-(फोन इन् कार्यक्रम), ‘गान्धी कथा’, ‘खेल संसार’, ‘तपाइँको अनुरोधमा’ (हिन्दी फिल्मी गीतको कार्यक्रम) श्रोताहरूको मनपर्दो कार्यक्रमहरू हुन्l रेडियो स्थापना भएदेखि सबै भन्दा बढी सुन्ने भनेको बेलुकी ६:५० बजे प्रसारण हुने प्रादेशिक समाचार होl यस वर्षको जनवरी महिनादेखि आकाशवाणी खरसाङलाई सरकारले भारतभरको नेपाली भाषाको समाचार केन्द्र बनाएको छl यो आकाशवाणी खरसाङको ठूलो उपलब्धि होl    

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement