हकी खेलमा प्रतिभा देखाउँदै रियेश शर्मा र निकिता राई

IMG-20230602-WA0228.jpg

२ जूनः फूटबल भनेपछि मरिमेट्ने उत्तर बंगालमा हकी खेलले पनि अलग स्थान पाउन थालेको छ। हकी खेलमा आफ्नो प्रतिभा देखाउँदै पहाड़का दुईजना युवा खेलाड़ीले १३औं नेशनल सब जूनियर हकी च्याम्पियनशीपमा आफ्नो छाप छोड़ेका छन्। दार्जीलिङको मैत्रेय मोण्टेस्सोरी हाउस अव् चिल्ड्रन स्कूलमा दशौं श्रेणीका छात्र रियेश शर्माले हालै ओडिशाको राउरकेलामा भएको यस च्याम्पियनशीपमा हिस्सा लिएका थिए। च्याम्पियनशीपमा पश्चिम बंगाल सब जूनियर टीमको प्रतिनिधित्व गर्दै उनले असल प्रदर्शन गरेका थिए। यस च्याम्पियनशीपको निम्ति कलकत्ताको साई कम्प्लेक्समा भएको क्याम्पमा रियेशको साथमा त्यही स्कूलका अभिलेख थापाले पनि हिस्सा लिएका थिए तर राज्यको टीममा केवल रियेशले स्थान पाए। अभिलेख पनि प्रतिभाशाली हकी खेलाड़ी हुन्।

यसअघि सेण्ट टेरेजा हायर सेकेण्डरी स्कूलकी छात्रा निकिता राईले पनि पश्चिम बंगाल सब जूनियर टीमको प्रतिनिधित्व गर्दै राष्ट्रिय च्याम्पियनशीपमा हिस्सा लिएकी थिइन्। प्रशिक्षक निशा गुरुङले यी युवा खेलाड़ीहरूका प्रदर्शनमा खुशी व्यक्त गर्दै भविष्यमा यस क्षेत्रबाट अझ अधिक संख्यामा हकी खेलाड़ीहरू अघि आउने आशा व्यक्त गरिन्।

About Author

Advertisement