एसयूको नेपाली विभागका शोधार्थीहरूद्वारा सिर्जना र समय कार्यक्रम आयोजित

IMG-20230601-WA0288.jpg

गान्तोक: सिक्किम विश्वविद्यालय नेपाली विभागको पहलमा आज ‘सिर्जना र समय’ कार्यक्रम आयोजना गरियो। यस अवसरमा नेपाली विभागका पिएएचडीका शोधार्थीहरूले प्रतिमहिना आयोजना गर्ने ‘सिर्जना र समय’ कार्यक्रमको १६ औँ प्रकरणको प्रमुख विषय ‘भारतीय नेपाली नाटक’ रहेको थियो। विभागका प्रमुख प्रोफेसर डा. कविता लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभागका सबै प्राध्यपकगणको उपस्थिति रहेको थियो। कार्यक्रममा पिएचडीका शोधार्थी गायत्री थापाले भारतीय नेपाली नाटकको विकास परम्पराबारे आफ्नो वार्ता प्रस्तुत गरेकी थिइन्। उनले भारतीय नेपाली नाटक पर्सियन थिएटरदेखि लिएर सडक नाटकसम्म आइपुगे तापनि समकालीन समयमा नाटकहरूको मञ्चन धेरै कम हुँदै आएको जानकारी गराइन्। भारतीय युवा साहित्यकारहरू नाटक विधातिर पनि अग्रसर हुनु आवश्यक बताउँदै नत्र भने भारतीय नेपाली साहित्यबाट नाटक विधा विस्तारै हराएर जाने सम्भावना उनले व्यक्त गरिन्। उनले नाटक विधाको आवश्यकता र महत्त्वबारे आफ्नो गम्भीर विचार प्रस्तुत गरेकी थिइन्।

यस कार्यक्रमको मुख्य आकर्षण नाटक प्रस्तुति थियो। विभागका दोस्रो अनि चौथो सत्रका विद्यार्थीहरूले सिक्किमेली नेपाली नाटककार ध्रुव लोहागणको एकाङ्की ‘मन’-को प्रदर्शन गरेका थिए। सन् २०११ मा स्थापित नेपाली विभागले आजसम्म कुनै पनि नाटक आयोजन नगरेको उनले अवगत गराइन्। लगभग बाह्र वर्षभित्रमा विभागमा प्रदर्शित यो पहिलो नाटक हो भन्ने विभागका अध्यक्ष प्रोफेसर कविता लामाले बताइन्। ध्रुव लोहागणद्वारा लिखित ‘मन’ एकाङ्कीको निर्देशन चौथो सत्रकी विद्यार्थी कविता शर्माले गरेकी थिइन् भने नाटकमा वृद्धा वृद्धको भूमिका ओमकुमार छेत्री र गीता छेत्रीले निर्वाह गरेका थिए भने, रविन र करुणाको भूमिका रविना माझी र विमल राईले गरेका थिए भने सरमनको भूमिकामा विशाल मगर थिए।

सिर्जना र समय कार्यक्रममा गीत, कविता वाचनसँगै विभागका प्राध्यापकगणले आआफ्नो विचार राखेका थिए। कार्यक्रमको सञ्चालन शोधार्थी प्रितम घतानीले गरेका थिए भने शोधार्थी रेणुका बस्नेतले स्वागत सम्बोधन राखेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement