लक्ष्मी प्रसाद काफ्ले सिटिजन एक्न पार्टीको नायाँ अध्यक्ष

n50546614816856417002077bdb97dd2823de5c61ce39932fcc828a0620ed26653d0858c3398e0b21311f94.jpg

गान्तोक: पश्चिम सिक्किमको गेरेथाङ निवासी लक्ष्मी प्रसाद काफ्ले सिटिजन एक्सन पार्टी सिक्किमको पहिलो अध्यक्ष चुनिएका छन्। पार्टीको संविधान अनुसार भएको चुनाउ प्रक्रियामा अन्य नामाङ्कन नआएका कारण चुनाउ समितिले आज उनलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ।

पाकिम जिल्लाको पार्टी कार्यालय उद्घाटनसँगै पार्टी अध्यक्षको घोषणालाई लिएर सिटिजन एक्सन पार्टीले आज रम्फूमा आयोजन गरेको कार्यक्रम अवधि लक्ष्मी प्रसाद काफ्ले अध्यक्ष चुनिएका थिए जसपछि पार्टीका मुख्य संयोजक गणेश कुमार राईले प्रमाणपत्र प्रदान गरे। सिक्किम राज्य सहकारी संघ (सिकोन) मा अध्यक्ष पदमा रहेका काफ्लेले हिजो बुधबार मात्र आफ्नो पदबाट राजीनामा दिएका थिए।

जानकारी अनुसार, सिटिजन एक्सन पार्टीको चुनाउ समितिले पछिल्लो २५ मईको दिन अध्यक्ष पदको निम्ति चुनाउ घोषणा गरेर नामाङ्कन आवेदन मागेको थियो। तथापि लक्ष्मी प्रसाद काफ्लेको मात्रै आवेदन आएका कारण उनी निर्विरोध निर्वाचित भएका चुनाव समितिले घोषणा गरेको छ।

सिटिजन एक्सन पार्टीको अध्यक्ष पदमा चुनिएपछि अध्यक्षीय सम्बोधन राख्दै लक्ष्मी प्रसाद काफ्लेले सिक्किममा चौतर्फी सुधारको आवश्यकता रहेको बताउँदै २०२४मा यो पार्टीले सरकार गठन गर्नैपर्ने बाध्यता रहेको बताए। पूर्व र वर्तमान सरकारका गलत नीतिका कारण सिक्किम सर्वाधिक बेरोजगार भएको राज्य बनेको र सिक्किमको राज्यको अर्थतन्त्र धरासायी बनेको अनि सिक्किम ऋणमा चल्ने राज्य बनिसकेको बताउँदै पार्टीले सरकार गठन गरेर सबै समस्या समाधानको पहल गर्ने बताए।

आफूलाई निर्विरोध निर्वाचित गरेकोमा पार्टीको सबै काउन्सिलका सदस्यहरूप्रति आभार व्यक्त गर्दै अध्यक्ष काफ्लेले सबैलाई आर्थिक, सामाजिक र राजनैतिक सुधारको लक्ष्यका साथ अघि बढ्न आग्रह गरे। नवनिर्वाचित अध्यक्ष लक्ष्मी प्रसाद काफ्लेले सिटिजिन एक्सन पार्टीको अध्यक्ष र मुख्यमन्त्री उम्मेववार भिन्ना-भिन्नै व्यक्ति हुने बताए।

अर्कोतर्फ सुधारको लक्ष्य प्राप्तिका निम्ति पार्टीले सरकार गठन गरेको खण्डमा मुख्यमन्त्रीसँग कुनै विभाग नरहने जानकारी दिँदै मुख्यमन्त्रीले मोनिटरिङ, प्लानिङ र एन्टी करप्सनमाथि काम गर्ने दाबी गरेका छन्। पार्टीले सरकार गठन गरे कोही व्यक्तिलाई पनि विभागीय अध्यक्ष नबनाउने, राज्य सञ्चालनको निम्ति स्टेट एडभाइजरी काउन्सिल गठन गर्ने, पार्टीले कुनै क्यालेण्डर र डायरी नछाप्ने, झण्डा मुक्त राजनीतिलाई सिक्किमा स्थापित गर्ने र पार्टी र सरकारका कुनै पनि कार्यक्रमलाई एकै स्थानमा मिसाएर पालन गर्ने व्यवस्थालाई अन्त्य गर्ने बताए।

ग्राम पञ्चायतलाई स्वतन्त्र काम गर्ने अवसर दिन पार्टीले सिटिजन एक्सन पार्टीले ब्लक तथा वार्ड स्तरमा पार्टीको कमिटी नै गठन नगर्ने र पार्टीलाई पूर्ण रूपमा क्राउड फण्डबाट नै सञ्चालन गर्ने पनि दाबी गरेका छन्। वर्तमान तथा पूर्व सरकार दुवैले लिम्बू-तामाङको विधानसभा सीट आरक्षणका लागि काम गर्न नसकेको भन्दै सिटिजन एक्सन पार्टीले यसबारे पनि विशेषज्ञहरूको सुझाउ लिएर पहल गरिरहेको उनले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement