रम्फूमा सिटिजन एक्सन पार्टीकाे पाकिम जिल्ला कार्यालय शुरु

00-1-Chhetriya-Samachar

गान्तोक। गान्तोक र नाम्ची जिल्लापछि सिटिजन एक्सन पार्टी सिक्किमले तेस्रो पार्टी कार्यालय पाकिम जिल्लामा पनि शुरु गरेको छ। पाकिम जिल्लाको रम्फूस्थित आईबीएममा पार्टीले जिल्ला कार्यालय आज उद्घाटन गरेको छ। पार्टीका मुख्य संयोजक गणेश कुमार राईले जिल्ला कार्यालयको उद्घाटन गरेका थिए।

यस अवसरमा पार्टीको नवनिर्वाचित अध्यक्ष लक्ष्मी प्रसाद काफ्ले, कार्यकारी अध्यक्ष डीबी चौहान, पार्टीको विभिन्न काउन्सिलका सदस्य लगायत अन्यको उपस्थिति रहेको थियो। रम्फूमा आयोजित कार्यक्रम अवधि विभिन्न निर्वाचन क्षेत्रबाट आएका मानिसहरू सिटिजन एक्सन पार्टीमा सामेल भए जसलाई पार्टी अध्यक्ष लगायत अन्यले खादा लगाएर स्वागत जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य संयोजक गणेश कुमार राईले वर्तमानमा सिक्किमको कानून व्यवस्था पूर्ण रूपमा भङ्ग भएको आरोप लगाए। राज्य नियम र कानूनका आधारमा नचलेका कारण सबै क्षेत्रमा मानिसहरूले त्रसित जीवन विताउन परिरहेको दाबी गर्दै सिटिजन एक्सन पार्टीको सरकार गठन पछि राज्यको कानून व्यवस्थालाई चुस्त गराउने बताए। उनले वर्तमान सरकार राज साशनभन्दा पनि अप्रजातान्त्रिक ढङ्गमा चलेको आरोप लगाउँदै रम्फूमा पार्टीको कार्यक्रम आयोजन गर्नमा पनि सरकार र प्रसाशनले बाधा पुऱ्याएको दाबी गरे।

पार्टी अध्यक्ष चुनाउ सरकार बनाउने दिशाको एउटा मुख्य कदम हो भन्दै गणेश राईले सिटिजन एक्सन पार्टीको सरकार गठन भएपछि राज्यमा हुने भ्रष्टाचारमा लगाम लाउने बताए। वर्तमान सरकारले जनताका घर बनाउने कार्यबाट पनि कमिशन खाने गरेको आरोप लगाए भने एक परिवार एक नोकरीका कर्मचारीलाई सरकारले न्याय दिन नसकेको, जनतालाई दिएका सबै वचन पूरा गर्न असफल भएको आरोप लगाए।

पार्टीका कार्यकारी अध्यक्ष डीबी चौहानले सिक्किमको प्रसाशन पक्षपाती बनेको आरोप लगाएका छन्। सिक्किमको प्रशासन चलाउने मानिसहरूले सरकारी पैसा खाएर एसकेएम कार्यकर्ताको जस्तो काम गर्दैछन् भन्दै सिटिजन एक्सन पार्टी अन्याय विरुद्ध एकजुट भएको समुह हो भन्ने बताए। चौहानले जल जिवन मिसन, सिक्किम गरीब आवास योजना लगायत भारत सरकारले फण्डिङ गरेका सबै योजनामा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै सिटिजन एक्सन पार्टीले अब सबैको हिसाब खोज्न शुरु गरेको बताए।

सिक्किमे युवाहरूले परिश्रम गरेर ल्याएको एसकेएम सरकार अहिले राज्य बाहिर रहेका केही मालिकहरूको अधिनमा चलेको छ भन्दै सरकारले सिक्किमको सम्पति र अस्तित्व सबै विक्री गरेको गम्भीर आरोप लगाए। सिक्किमा व्यापक भ्रष्टाचार भएको र यस विषयमा छानबिन गराउन ईडी सक्रिय भइरहेको दाबी गर्दै सिटिजन एक्सन पार्टीले सबै क्षेत्रमा भएको भ्रष्टाचारको बिसाब केन्द्रिय एजेन्सीलाई दिएको पनि बताएका छन्। कार्यक्रमलाई पार्टीका प्रवक्ता प्रकाश पराजुलीले पनि सम्बोधन गरेका थिए। उनले वर्तमान सरकारले अस्थायी शिक्षक, सरकारी क्षेत्रका मजदुर लगायत शिक्षित युवाका लागि कुनै ठोस पहल गर्न नसकेको ठहर गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement